भाषा संग्रामी चन्द्र शर्मालाई सम्मान्

IMG-20220906-WA0175.jpg

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागको पक्षबाट खरसाङ निवासी भाषा संग्रामी एंव वरिष्ठ साहित्यकार चन्द्र शर्मालाई घरमै पुगेर सम्मान जनाइएको छ। गत २० अगस्तको दिन नेपाली अकादमी र दार्जिलिङ नगरपालिकाको आयोजनामा सम्पन्न ३१औं नेपाली भाषा मान्यता दिवसको दिन गरिएको सम्मान कार्यक्रममा चन्द्र शर्मा आफ्नो अस्वस्थताको कारणले उपस्थित हुन सकेका थिएनन् र आज खरसाङस्थित उनकै घरमा पुगेर सम्मान जनाइएको छ। यस अवसरमा सूचना अनि सांस्कृतिक विभाग भाषा साहित्यको सह निर्देशक बिमल राईको बाहुलीबाट चन्द्र शर्मालाई खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ। उक्त सम्बर्ध्दना पत्र सबिना गिरीले पठन गरेका थिए।

यस अवसरमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको इन्चार्ज गोबिन छेत्री र सबिना गिरी पनि उपस्थित रहेका थिए। यसरी घरमै पुगेर चन्द्र शर्मालाई सम्मान जनाइएको विषयमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको भाषा साहित्यको सह निर्देशक बिमल राईले गत २० अगस्तको दिन दार्जिलिङमा भाषा मान्यता दिवस पालन गरिएको र उक्त कार्यक्रममा सबै भाषा संग्रामीहरूलाई सम्मान जनाइएको थियो तर अस्वस्थताको कारणले चन्द्र शर्मा अनुपस्थित रहेकोले अाज खरसाङमा उनको घरमा नै आएर विभाग, आयोजक समिति र दार्जिलिङ नगरपालिकाको पक्षबाट सम्मान गरिएको जानकारी गराएका छन्। उनले चन्द्र शर्मा एकजना भाषा संग्रामी, वरिष्ठ साहित्यकार र एक कुशल सम्पादक रहेको बताएका छन्।

About Author

Advertisement