सोनादा: गढवाल राईफल्स र चाँद एफसी तीनधारे भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको दुबे खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वाटर फाइनल खेल गढवाल राईफल्स र बदमताम एफसीमाझ सम्पन्न भएको छ। यस खेलमा गढवाल राईफल्सले बदमताम एफसीलाई ४-१ को अन्तरले सजिलै जितेर सेमी फाइनलमा प्रवेश गरेको छ।

यसरी नै आजको दोस्रो क्वाटर फाइनल खेल चाँद एफसी तीनधारे र तरनजाबारी सिलगढीमाझ सम्पन्न भएको छ। यस खेलमा चाँद एफसी तीनधारेले तरनजाबारी सिलगढीलाई ५-० को अन्तरले सजिलै जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा अतिथिको रुपमा प्रकाश मुखिया, हेमकुमार गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए। आज भएको दुईवटा क्वाटर फाइनलको पहिलो खेलमा म्यान अफ् द म्याच गढवाल राईफल्सको जर्सी नम्बर ११ गणेश मण्डलले प्राप्त गरेका छन् भने दोस्रो क्वाटर फाइनल खेलमा चाँद एफसी तीनधारेको वाङ्देन तामाङ चयन भएका छन्। अब अर्को अन्तिम क्वाटर फाइनल खेल आगामी शनिबार १ मार्चमा हुने भएको छ। शनिबार हुने अन्तिम क्वाटर फाइनल खेल मिक्स अप बोइज खरसाङ र केएफसी सिलगढीमाझ सम्पन्न हुने भएको छ।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्।