गान्तोक: पत्रकार निर्मल मगरमाथि सामाजिक सञ्जालहरुमा भइरहेको आपत्तिजनक टिप्पणी, ट्रोल, कार्टुन र मिम्स बनाएर हियाउने कार्यको साप्तहिक समाचार पत्र मञ्चले घोर निन्दा जनाएको छ। उनले सिक्किमे पत्रकारितासँगै समाजका लागि अघिल्ला लामो समयदेखि योगदान दिँदै आएको कुरालाई कसैले नकार्न नसकिने संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ। आफ्नो पत्रकारिता पेशामा इमानदारपूर्वक लागिपरेका एकजना पत्रकारमाथि यसरी सिक्किम सिटिजन एक्सन पार्टी, सिक्किमले सुनियोजित तरिकाले बदनाम गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। पत्रकारसँग कुनै पनि घटनाविशेषको रिपोर्ट गर्ने आ-आफ्नै किसिमको शैली हुन सक्छ अनि स्रोत र सूत्रको व्यवस्था गर्नु पत्रकार निजी क्षमताको कुरा हो। पत्रकार निर्मल मगरले सिक्किमसँग सम्बन्धित ज्वलन्त विषयको समाचार सङ्कलन गरेर पत्रकार हुनुको धर्म निर्वाह गरिरहेका छन्। प्रजातन्त्रमा आलोचना गर्ने अधिकार छ भन्दैमा जथाभावी आरोप थोप्नु सभ्य समाजको परिचायक होइन भनी संघले प्रेस बयानमा उल्लेख गरेको छ।