गान्तोक: पर्यटन तथा नागरिक उड्डयन विभागको संयोजनमा इण्डियान हिमालयन एडभेञ्चर तथा इको टुरिज्म केन्द्र चेम्चेद्वारा आज क्योङशाला क्षेत्रको जेएन रोडमा स्वयंसेवकहरूका लागि खोज तथा उद्धार क्षेत्र सञ्चालन प्रशिक्षण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सिक्किम सरकारको साहसिक, पर्यटन तथा नागरिक उड्डयन विभागका प्रमुख तथा सहनिर्देशक काजी शेर्पा उपस्थित थिए। सोही प्रकारले उपनिर्देशक मनोजकुमार छेत्री र सहायक निर्देशक पेम्पा डी. भोटिया लगायत इण्डियान हिमालयन एडभेञ्चर तथा इको टुरिज्म केन्द्रका कर्मचारी र अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस प्रशिक्षण कार्यक्रममा जेएन रोड र मंगन जिल्लाको बाइकर्स ग्रुपका २१ जना राईडरले सहभागिता जनाएका थिए। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य स्थानीय स्वयंसेवकहरूलाई आपतकालिन प्रतिक्रियाको लागि आवश्यक क्षमता साथै तालिम प्रदान गर्नु रहेको थियो। प्रशिक्षण कार्यक्रममा इण्डियान हिमालयन एडभेञ्चर तथा इको टुरिज्मका प्रशिक्षकहरूले खोज र उद्धार कार्यहरूमा केन्द्रित एक व्यापक, व्यावहारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरे। सहभागीहरूले आपतकालिन परिस्थितिहरूमा उनीहरूको दक्षता बढाउन विभिन्न उपकरणहरू र विधिहरू प्रयोग गरेर संकटमा परेका व्यक्तिहरूलाई पत्तो लगाउन र सहयोग गर्ने महत्त्वपूर्ण प्रविधिहरूबारे ज्ञान प्राप्त गरेका छन्। यो पहलले सामुदायिक सहभागितालाई बलियो मात्र नबनाएर स्वयंसेवकहरूबीच टोली कार्य र सहयोगलाई पनि बढावा दिने गरेको बताइएको छ। आफ्नो सम्बोधनमा काजी शेर्पाले प्रशिक्षण कार्यक्रममा स्थानीय स्वयंसेवकहरूलाई दुर्घटना क्षेत्रहरूमा पहिलो उद्वारकर्ताको रूपमा तयार गर्न डिजाइन गरिएको बताए। सैद्धान्तिक घटकहरू इण्डियन हिमालयन एडभेञ्चर तथा इको टुरिज्म चेम्चेमा सञ्चालन गरिएको थियो भने क्षेत्रीय प्रशिक्षण आज १० हजार फिट भन्दा बढी उँचाइमा भएको थियो। उनले थप उल्लेख गरे कि यी स्वयंसेवकहरूले आवश्यक उपकरणको सहयोगले पूर्ण रूपमा स्वयंसेवक उद्धार टोलीको रूपमा सरकारबाट प्रमाणीकरण प्राप्त गर्नेछन्। थप जानकारी गराएअनुसार १५ लाख बराबरको बीमा प्याकेजको प्रावधान घोषणा गरेको छ जसमा १० प्रतिशत चिकित्सा बीमा लाभहरू समावेश रहको बताए। उनले भारतमा यो अग्रणी स्वयंसेवक उद्धार टोली स्थापना गर्न सहयोग गरेकोमा विभाग र सरकारका वरिष्ठ अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरे।