टीआरआई समाचार
खरसाङ्: दार्जीलिङ पहाडी भेकको क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले समाचार र मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारणसँगै मानव मूल्यलाई प्रमुखता दिँदै सामाजक कार्यहरु गर्दै आइरहेको छl खरसाङ बजारदेखि केही टाडा खहरे बस्तीमा अवस्थित सहयोगी हातद्वारा संचालित वृद्ध आश्रम जीर्ण बन्दै गएको विषयलाई प्रमुखता दिँदै दुई बन्डल छाना प्रदान गरेको छl नमस्ते खरसाङका प्रबन्धन निर्देशक एवं सामाजिक कार्यकर्ता निर्मल गुरुङको अगुवाईमा च्यानलको टोली पुगेर छाना आश्रमकी प्रमुख सुमित्रा राईलाई प्रदान गरियोl गएको केही वर्षदेखि खहरेमा सुमित्रा राईले असहाय वृद्ध-वृद्धाहरुका आश्रयका लागि वृद्ध आश्रम संचालन गरिरहेकी छन्l अहिलेघरि आश्रमलाई छानाको आवश्यकता महसुस गरेर नमस्ते खरसाङ च्यानलद्वारा सो प्रदान गरिएको छl सुमित्रा राईले कठिन सङ्घर्ष गर्दै सो आश्रम संचालन गरिरहेकी छिन्l
नमस्ते खरसाङ च्यानलद्वारा यसरी छाना प्रदान गरिएपछि सुमित्रा राईले च्यानलप्रति आभार प्रकट गरेकी छिन्l गएका दिनहरुमा पनि च्यानलले विभिन्न माध्यमबाट आश्रमलाई सहयोग पुर्याएको सुमित्र राईले बताएकी छिन्l निकट भविष्यमा आश्रमलाई खहरे बस्तीबाट सिरुबारीमा सारिने उनले बताइन्l आश्रमको निम्ति आधा पैसा भुक्तान गरेर जमिन किनिसकेको बताउँदै उनले भनिन्, ‘अब अझ आधा पैसा दिनुपर्नेछl अनि सो जमिनमा घर निर्माण गर्नुपर्नेछl’ नयाँ जमिनमा घर निर्माण गर्नुपर्ने हुँदा केही रुपियाँ आवश्यकता परेको हुनाले यदि कसैले पनि आफ्ना दिवंगत सदस्यहरुका नाममा दान गर्न चाहे सो संस्थाले स्वीकार गर्ने उनले बताइन्l नमस्ते खरसाङ च्यानलका प्रबन्धन निर्देशक निर्मल गुरुङले वृद्ध आश्रमको अवस्था हालमा जीर्ण बन्दै गएको हुँदा धेरै असुविधा भइरहेको हुनाले सबै सर्वसाधारणलाई यसको निम्ति सहयोग गरिदिने आहवान उनले गरेका छन्l उनले भने, ‘नमस्ते खरसाङ च्यानल केवल मनोरन्जन प्रदान गर्ने, समाचार देखाउने मात्र होइन, सामाजिक सेवा कार्यमा पनि सधैँ सक्रिय रहने संस्था होl यस्ता कार्यहरुमा च्यानलका सदस्यहरु र समग्र दर्शकहरुको सहयोग रहेको छl’ च्यानलको टोलीमा उपस्थित रहेका खरसाङ प्रेस क्लबका अध्यक्ष मुरारीलाल पंचमले पनि वृद्ध आश्रमलाई सहयोग पुर्याएर पूण्यको कार्य गरिदिने आग्रह गरेका छन्l मानिसलाई जिउनका निम्ति छानो एउटा मुख्य कुरा रहेको हुनाले निर्मल गुरुङको सोचअनुसार यसरी छाना प्रदान गरिएको पत्रकार सुवास छेत्रीले बताएl यसै अवसरमा खरसाङका फ्रेश बाइट बेकरीका मालिक एवं सामाजिक कार्यकर्ता फिरोज अख्तरले आश्रममा खानेकुराहरु पठाइदिएका थिएl च्यानल टोलीमा भोला राउत र अर्पण गुरुङ पनि सामेल थिएl नमस्ते खरसाङ च्यानलले आर्थिक अवस्थाले कमजोर रहेका रोगीहरुलाई उपचारमा सहायोग पुर्याउन अर्थ सङ्ग्रह गरेर सहयोग पुर्याउने कार्य पनि गर्ने गरेको छl च्यानलले आफ्नो उत्कृष्ट कार्यक्रमहरु प्रस्तुत गरेर पहाडी भेकमा लोकप्रियता हासिल गर्न सफल बनेको छl











