न्यू दिल्ली: दक्षिण अफ्रिकाले आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। समूह ‘बी’मा जितका साथ दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ। पाकिस्तानको कराँचीमा शुक्रबार दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गरी ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो। प्रत्युत्तरमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमा अलआउट हुँदा दक्षिण अफ्रिका १०७ रनले विजयी भएको हो।
दक्षिण अफ्रिकाका ओपनर रियान रिकेल्टनले शतकीय योगदान दिएका थिए। उनले १०६ बलमा १०३ रन जोडे। यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरेका थिए। दक्षिण अफ्रिकाको ब्याटिङ इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाए। कप्तान टेम्बा बभुमाले ७६ बलमा ५८ रन बनाए। यसैगरी, भान डे डुसानले आक्रामक ब्याटिङ गरी ४६ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ५२ रनको योगदान दिए। एडेन माक्रामले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५२ रन बनाए।
दक्षिण अफ्रिकाका लागि रिकेल्टन र टेम्बाबिच दोस्रो विकेटका लागि १४२ बलमा १२९ रनको साझेदारी भएको थियो। यसैगरी, भान डे र रिकेल्टनले तेस्रो विकेटका लागि ४३ बलमा ४७ रन जोडेका थिए। डेभिड मिलर आक्रामले ३२ बलमा ५० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो तीन सय रनको योगफल कटाएको हो।
दक्षिण अफ्रिकाविरुद्ध रहमतको अर्धशतक
अफगानिस्तानको ब्याटिङमा मध्यक्रमका रहमत साहले मात्र अर्धशतकीय इनिङ्स खेलेका थिए। अफगानिस्तानको ब्याटिङमा आउने उनी अन्तिम खेलाडी बने। उनले ९२ बलमा नौ चौका र एक छक्का प्रहार गरी ९० रन बनाए। दक्षिण अफ्रिकाले कुनै पनि विकेटका लागि गतिलो साझेदारी बनाउन सकेन। बलिङमा कार्डिसो राडवाले ८.३ ओभरमा ३६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। लुन्गीले ५६ रनमा दुई र वाआनले ३६ रनमै समान दुई विकेट हात पारे।