काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यका इच्छा, आकांक्षाबारे खुलेर चर्चा गरेका छन्। पत्नी राधिकाको किताब ‘करुणा’को लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीले पत्नी राधिकाले आफूसँग भएका विभिन्न मागहरूबारे खुलासा गरेका हुन्।
उनले ‘करुणा’ उपन्यास, कथा वा कहानी केही भए पनि सत्यमा आधारित लेखोट भएको बताए। उनले पत्नी राधिकाको किताबलाई केही नमिसिएको २४ क्यारेटजस्तै भएको प्रस्ट पारे। ‘मैल कहिले कुनै संस्मरण लेख्दा कथानक पनि मिसाइदिन्छु। तर, यो किताब केही नमिसिएको २४ क्यारेट हो। यो किताब सत्यमा आधारित छ। यसको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन। यसको साथी म पनि छु,’ उनले भने।
उनले पत्नी राधिकाको पनि भित्रभित्रै केही इच्छा, आकांक्षा रहेको र उक्त कुरा किताब पढेर आफूले थाहा पाएको बताए। ‘उनको (राधिकाको) मसँग पनि केही डिमान्ड रहेछन्, भित्रभित्रै। केही इच्छा रहेछन्। यसो गरिदिए हुन्थ्यो, उसो गरिदिए हुन्थ्यो,’ उनले भने, ‘जन्मदिनमा फूल दिऊँ भने भोलिपल्ट थाहा हुन्छ। सम्झेर दिए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। भनिदिए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। ३७ वर्षदेखि हामीबीच यस्तै चल्दै आयो।’
उनले पत्नी राधिकाको जन्मदिनमा फूल दिन नपाए पनि आफ्नो जन्मदिन भव्यताका साथ मनाइदिने गरेको बताए। राधिका नभएको भए आफू बाँच्न पनि सम्भव नभएको ओलीको भनाइ छ।
‘जब म बिरामी हुन थाले। त्यसपछि उनले मेरो जन्मदिन भव्यताका साथ मनाइदिन्छन्। राधिका नहुने हो भने म अहिलेमसम्म बाँच्न सम्भव थिएन। वास्तवमै थिएन। आँगनको माथिल्लोपट्टि मठ बनाएर हरेक विहान-बेलुका हुर्काएर तुलसीजस्तै बाँचेको मान्छे हुँ म। जंगलको तितेपातेजस्तो होइन, जतनले बाँचेको मान्छे हँ। आज ७३ पुगे। भोलि ७४ लाग्छु,’ उनले भने। उनले आफूलाई बचाउन सजिलो नभएको बताए। ‘मलाई बचाउन सजिलो छैन, अलिक गाह्रो नै छ,’ उनले थपे।