सन् १९७० जनवरी १६ मा लिबियाको प्रधानमन्त्री बनेका मुअम्मर गद्दाफीले आफ्नो शासन ४२ वर्षसम्म चल्छ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन्।
सत्तामा रहँदा उनले आफ्नोविरूद्धका कुनै पनि प्रकारको विरोधलाई क्रूरतापूर्वक कुल्चिए । सायद यही कारणले गर्दा उनको अगाडि अरू कुनै नेतृत्वमा आउन सकेनन् ।
तर, सन् २०११ मा ट्युनिसियाबाट सुरु भएको अरब स्प्रिङको बाढीले ‘कर्नेल’ गद्दाफीलाई पनि बगायो
२० अक्टोबर २०११ मा विद्रोहीद्वारा मारिएका गद्दाफी बेदुइन जनजातिका किसानका छोरा थिए। गाउँबाट सुरु गरेर उनी कसरी अरब संसारको प्रभावशाली नेता बने? त्यसबारे विस्तृतमा जानौँ:
बाल्यकाल
इन्साइक्लोपीडिया ब्रिटानिकाकाअनुसार गद्दाफीको जन्म सन् १९४२ मा भएको थियो। उनका बुवा बेदुइन किसान थिए।
आफ्नो विद्यालय शिक्षा पूरा गरेपछि गद्दाफी विश्वविद्यालय शिक्षा हासिल गर्न बेनगाजी शहर पुगे।
सन् १९६१ मा राजनीतिक झुकाव र विचारधाराका कारण उनी विश्वविद्यालयबाट निष्कासन हुनुपरेको थियो।
पछि गद्दाफीले लिबिया विश्वविद्यालयबाट कानूनमा डिग्री प्राप्त गरे। त्यहाँ उनले लिबियाको सेनामा भर्ती हुने मौका पनि पाए।
त्यतिबेला सेनामा काम गरेर राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ। साथै, सेनालाई राम्रो आर्थिक विकल्पको रूपमा हेरिन्थ्यो।
त्यसैले होला उच्च शिक्षा पूरा गर्नुअघि नै उनी सेनामा भर्ना भएका थिए। उनको निर्णयले एक दिन सत्ताको नजिक पुर्यायो।
युवावस्थामा गद्दाफी इजिप्टका गमाल अब्दुल नासेर र उनको नीतिको प्रशंसक थिए।
सन् १९५६ मा इजिप्टले स्वेज नहरमाथि कब्जा जमाएपछि बेलायत, फ्रान्स र इजरायलले गरेको आक्रमणको विरोधमा अरब संसारमा सुरु भएको प्रदर्शनमा गद्दाफीले पनि भाग लिएका थिए।
लिबियामा सैन्य तालिम पूरा गरेपछि गद्दाफीलाई सन् १९६५ मा प्रशिक्षणका लागि बेलायत पठाइएको थियो।
लिबियाको सेनामा गद्दाफी असाधारण रूपमा माथिल्लो ओहोदामा पुगे र शाही परिवारविरुद्ध विद्रोहको योजना बनाउन थाले।
लिबियामा राजतन्त्रविरुद्ध विद्रोहको योजना सैन्य प्रशिक्षण दिनदेखि नै गद्दाफीको दिमागमा थियो।
अन्ततः सन् १९६९ मा बेलायतबाट तालिम लिएर फर्किएका उनले बेनगाजी शहरलाई केन्द्रमा राखेर सैन्य विद्रोह सुरु गरे। यस विद्रोहको अन्त्यमा उनी लिबियाको शासकको रूपमा देखा परे।
विद्रोह र तेल
सेप्टेम्बर १, १९६९ मा कर्नेल गद्दाफीको नेतृत्वमा त्यहाँको सेनाले राजालाई अपदस्थ गर्यो।
गद्दाफी आफैँ सेनाको कमाण्डर इन चीफ बने र एकै समयमा क्रान्तिकारी परिषद्को नयाँ अध्यक्षको रूपमा राज्य प्रमुख पनि बने। तर, उनले कर्णेल पद भने कायम राखे।
गद्दाफी सत्तामा आएसँगै उनले अमेरिकी र बेलायती सैन्य अड्डाहरू ध्वस्त पारे र सन् १९७० मा इटालियन र यहूदीहरूलाई देशबाट निकाले।
सन् १९७३ मा गद्दाफीले देशका सबै तेल केन्द्र राष्ट्रिय अधिग्रहण गरे। उनले देशमा मदिरा र जुवा खेल्न पनि प्रतिबन्ध लगाए।
यसक्रममा उनले अन्तर्राष्ट्रिय तेल कम्पनीका अधिकारीलाई चुनौती दिँदै भनेका थिए – पाँच हजार वर्षसम्म तेल बिना बाँचेकाहरू आफ्नो अधिकारका लागि लड्न अझै केही वर्ष बाँच्न सक्छन्।
उनले दिएको यो चुनौतीले काम गर्यो र लिबिया आफ्नो तेल उत्पादनको ठूलो हिस्सा प्राप्त गर्ने विकासशील देशहरूमध्ये पहिलो देश बन्यो।
अन्य अरब देशले चाँडै यो उदाहरणबाट पाठ सिके र अरब पेट्रोल बूम अर्थात् १९७० को दशकमा अरबमा तेल क्रान्तिको जग बसाल्यो।
यसरी हेर्दा लिबिया तेल अर्थात् ‘कालो सुन’बाट लाभान्वित हुने स्थितिमा थियो किनभने यहाँको तेल उत्पादन खाडी मुलुक जत्तिकै थियो तर, अफ्रिकाको यो देशको कुल जनसङ्ख्या ३० लाख मात्रै थियो। यसरी तेलले लिबियालाई चाँडै नै धनी बनायो।
गद्दाफी इजरायलको कट्टर विरोधी थिए र यही कारणले उनी अरब संसारमा एक नेताको रूपमा उभिए, जसले इजिप्ट र इजरायलबीचको शान्ति सम्झौतालाई पनि अस्वीकार गरेका थिए।
गद्दाफीको दृष्टिकोण
सन् १९७० को सुरुमा गद्दाफीले ‘ग्रिन बुक’ नामक पुस्तकमार्फत आफ्नो राजनीतिक विचार प्रस्तुत गरेका थिए। यसअन्तर्गत इस्लामिक समाजवादलाई प्राथमिकता दिँदै आर्थिक संस्थाहरूलाई राष्ट्रिय कब्जामा लिने घोषणा गरिएको थियो।
यस पुस्तककाअनुसार समाजका समस्याको समाधान लोकतन्त्रबाहेक अन्य कुनै व्यवस्थामा हुँदैन। गद्दाफीले लोकतन्त्रलाई सबैभन्दा ठूलो पार्टीको अधिनायकवाद भनेका थिए । उनकाअनुसार सरकार सबै कुराका लागि जिम्मेवार समितिहरूद्वारा सञ्चालित हुनुपर्छ।
सन् १९७९ मा गद्दाफीले लिबियाको औपचारिक नेतृत्व त्यागे । उनले आफू क्रान्तिकारी नेता मात्र भएको दाबी गरे। तर, सत्ता र अधिकार उनकै हातमा रह्यो।
गद्दाफी र उनको सरकार अप्रत्याशित निर्णयका कारण अन्तर्राष्ट्रियस्तरमा चर्चित भयो।
उनले धेरै संस्थालाई रकम दिन थाले। यसमा अमेरिकी ब्ल्याक प्यान्थर्स र नेशन अफ इस्लाम पनि समावेश थिए। गद्दाफीले उत्तरी आयरल्याण्डमा आयरिश रिपब्लिकन आर्मी (आईआरए)लाई पनि समर्थन गरे।
लिबियाका गुप्तचर एजेन्टहरूले विदेशमा आलोचकहरूलाई लक्षित गर्न जारी राखे। त्यो अवधिमा गद्दाफी सरकारलाई धेरै घातक घटनाको आरोप पनि लगाइएको थियो। सन् १९८६ मा एउटा घटना घट्यो, जुन निकै महत्वपूर्ण घातक साबित भयो।
यो घटना जर्मनीको राजधानी बर्लिनको एउटा क्लबमा भएको विस्फोट हो, जहाँ अमेरिकी सैनिकहरू जाने गर्दथे। यस विस्फोटको लागि लिबियाका एजेन्टहरू दोषी थिए।
त्यसबेला अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले दुई सैनिकको मृत्युपछि राजधानी त्रिपोली र बेनगाजी शहरमा हवाई आक्रमणको आदेश थिए। यी आक्रमणमा लिबियाले ठूलो क्षति व्यहोर्यो र धेरै सर्वसाधारणको मृत्यु भयो।
मारिनेमा गद्दाफीकी धर्मपुत्री पनि थिइन् तर, गद्दाफी भने जोगिएका थिए।
यसपछि सन् १९८८ मा स्कटल्याण्डको लकरबीमा प्यान एम यात्रूवाहक विमान दुर्घटना हुँदा २७० जनाको ज्यान गएको थियो। यस दुर्घटनामा पनि लिबियालाई दोष लगाइएको थियो।
लकरबी सम्झौता
गद्दाफीले सुरुमा दुई लकरबी बम विष्फोटका संदिग्धहरूलाई स्कटल्याण्डलाई सुम्पन अस्वीकार गरेका थिए।
यसपछि प्रतिबन्ध र वार्ताको एक श्रृङ्खला सुरु भयो, जुन सन् १९९९ मा समाप्त भयो, जब गद्दाफीले अन्ततःदुवैलाई स्कटल्याण्डसमक्ष सुम्पिदिए।
जसमध्ये एकलाई जन्मकैदको सजाय सुनाइएको थियो भने अर्कालाई सफाइ दिइएको थियो।
अगस्ट २००३ मा लिबियाले संयुक्त राष्ट्र सङ्घलाई लेखेको एक पत्रमा विस्फोटको जिम्मेवारी स्वीकार गर्यो र घटनाबाट प्रभावितलाई क्षतिपूर्ति लगभग २.७ बिलियन डलर भुक्तानी गर्यो। प्रतिक्रियामा सेप्टेम्बर २००३ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लिबियामा लगाइएको प्रतिबन्ध समाप्त गर्यो।
पछि लिबियाले सन् १९८९ मा ध्वस्त भएको फ्रान्सेली यात्रू जहाजका पीडित र बर्लिन क्लबलाई पनि क्षतिपूर्ति तिर्यो।
लकरबी सम्झौता, जसले गद्दाफीको गोप्य आणविक र रासायनिक कार्यक्रमको स्वीकार र त्यागले लिबिया र पश्चिमी शक्तिबीचको राम्रो सम्बन्धको लागि मार्ग प्रशस्त गर्यो।
अन्तर्राष्ट्रिय प्रतिबन्धको अन्त्यपछि लिबिया अन्तर्राष्ट्रिय राजनीतिमा फर्कियो।
यसपछि बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित धेरै ठूला व्यक्तित्वहरू गद्दाफीको भव्य दरबारमा उनको बेदुइन टेन्टमा देखिएका थिए।
गद्दाफी युरोप र अमेरिकाको अन्तर्राष्ट्रिय भ्रमणमा जान्थे। त्यस अवधिमा लिबियाले युरोपेली हतियार निर्माण र तेल कम्पनीसँग धेरै व्यापार सम्झौतामा हस्ताक्षर गर्यो।
अनौठो तरिका अपनाउन प्रसिद्ध गद्दाफी प्रायः टेलिभिजनमा पालमा बसेको देखिन्थे। उनका निजी सुरक्षाकर्मीमा अधिकांश महिला थिए।
अरब संसारमा परिवर्तन
फेब्रुअरी २०११ मा ट्युनिसिया र इजिप्टमा आम जनताको प्रदर्शनले जैनुल अबेदिन र होस्नी मुबारकको लामो शासनको अन्त्य गर्यो, जबकि लिबियामा गद्दाफीविरूद्ध प्रदर्शनहरू सुरु भयो।
त्यसपछिका विषय पढ्नुअघि प्रदर्शन किन सुरु भयो? के हो ‘अरब स्प्रिङ’ जानौँ –
डिसेम्बर २०१० मा मध्य ट्युनिसियाको सिदी बौजिदको सफा शहरमा मोहम्मद बोआजीजी नामका तरकारी बिक्रेताको गाडा स्थानीय पुलिसले हटाएको थियो। उनले गाडा फिर्ता ल्याउन पुलिस स्टेशनसहित विभिन्न निकाय धाए। तर, उनले गाडा फिर्ता ल्याउन सकेनन्।
त्यसपछि निराश भएर उनले शहरको बीचमै स्थानीय पुलिसको भ्रष्टाचार र धम्कीको विरोधमा आफैँलाई आगो लगाए। उनको सोही स्थानमा मृत्यु भयो।
स्थानीय फलफूल बिक्रेताले बनाएको यो चुनौतीले मध्यपूर्वका लामो समय सत्तामा रहेका नेताविरूद्ध ठूलो प्रदर्शनहरू निम्त्यायो। यो प्रदर्शनलाई ‘अरब स्प्रिङ ‘ नाम दिइएको थियो।
यसको नतिजा अचम्मको भयो। ट्युनिसियाबाट शुरु भएको विरोध प्रदर्शन इजिप्ट, बहराइन, सिरिया, लिबिया र अन्य अरब राष्ट्रमा पुग्यो। साउदी अरेबिया, युएई र इरानका सरकारहरू पनि विद्रोहबाट डराउन थाले। यो डर अझै पनि यी देशहरूले यस क्षेत्रमा लागू गर्ने नीतिहरूमा देखिन्छ।
सारा विश्वले यी प्रदर्शनहरूलाई ध्यान दिए। लाखौं मानिसहरू, प्राय: युवाहरूको नेतृत्वमा लाखौं नागरिक दशकौंदेखि सत्तामा रहेका तानाशाहविरूद्ध सडकमा उत्रिए।
ट्युनिसियाका लामो समय राष्ट्रपति रहेका जिने अल अबिदिनलाई राजीनामा दिन बाध्य पारिएको थियो। यो राजीनामासँगै सन् १९८७ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हालेका आबेदिनको इनिङ्स सकिएको थियो।
त्यसैगरी इजिप्टको राजधानी कायरोको तहरीर स्क्वायरमा १० लाखभन्दा बढी नागरिकले कब्जा जमाएपछि इजिप्टका लामो समयसम्म राष्ट्रपति रहेका होस्नी मुबारकले पनि पद त्यागेका थिए।
विषयवस्तुमा फर्किँदा देशभर भइरहेको प्रदर्शनलाई सम्बोधन गर्न गद्दाफीको सरकारले बल प्रयोग गरेर रोक्न खोज्यो। प्रहरी र कानून प्रवर्तन एजेन्सीहरूले प्रदर्शनकारीमाथि गोली चलाए।
प्रदर्शनकारीविरूद्ध लडाकु विमान र हेलिकोप्टर पनि प्रयोग गरिएको थियो। अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार सङ्गठनहरूले लिबियाको यो कदमको निन्दा गरे।
अर्कोतर्फ गद्दाफी सरकारका वरिष्ठ अधिकारीहरू पनि यो अवस्थाबाट आक्रोशित भए। जसका कारण कानूनमन्त्रीले राजीनामा दिए भने धेरै राजदूतले पनि सरकारको निन्दा गरे।
२२ फेब्रुअरीमा गद्दाफीले सरकारी टिभीमा गरेको सम्बोधनमा प्रदर्शनकारीहरूलाई ‘देशद्रोही’ भन्दै राजीनामा दिन अस्वीकार गरे।
उनले विपक्षीहरू अलकायदाको संरक्षणमा रहेको र प्रदर्शनकारीले लागूऔषध प्रयोग गरिरहेको दाबी गरे। उनले आफ्ना समर्थकलाई प्रदर्शनकारीबाट आफूलाई बचाउन आग्रह गरे।
तर, बिस्तारै सत्तामा गद्दाफीको पकड कमजोर हुँदै गयो र फेब्रुअरीको अन्त्यसम्ममा उनका विपक्षीले लिबियाको ठूलो क्षेत्र कब्जा गरे।
यसपछि राजधानी त्रिपोली पनि घेरिएको थियो, जहाँ गद्दाफी एक्लै थिए र उनीमाथि राजीनामाको दबाब बढ्दै गयो।
फेब्रुअरी २८ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गद्दाफीको सरकारमाथि नयाँ प्रतिबन्ध लगायो र उनको परिवारको सम्पत्ति पनि रोक्का गर्यो।
फेब्रुअरी २८ मा संयुक्त राष्ट्र सङ्घले गद्दाफीको ३० अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको घोषणा गर्यो।
उही दिन पश्चिमी मिडियासँगको आफ्नो अन्तर्वार्तामा गद्दाफीले दाबी गरे – मानिसहरू अझै पनि मलाई माया गर्छन्।
उनले आफ्नो सरकारले आन्दोलनकारीविरूद्ध बल प्रयोग गरेको आरोप अस्वीकार गरे। उनले आफ्ना विरोधीले अल कायदाको संरक्षणमा काम गरिरहेको दाबी पनि दोहोर्याए।
गद्दाफीको सेनाले पनि आश्चर्यजनक रूपमा विद्रोहीको नियन्त्रणबाट धेरै क्षेत्र फिर्ता लिएको थियो। यस्तो अवस्थामा जब लिबियाको सेना बेनगाजीतर्फ बढिरहेको थियो, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मार्च १७ मा सैन्य हस्तक्षेपको पक्षमा मतदान गर्यो र ‘नाटो’बाट हवाई बमबारीले गद्दाफीको सेनालाई ठूलो नोक्सान पुर्यायो।
मार्चको अन्त्यमा दुई वरिष्ठ अधिकारीहरूले वफादारी परिवर्तन गर्दा गद्दाफीको सरकारलाई ठूलो धक्का लाग्यो। तर, गद्दाफीले त्रिपोलीमा आफ्नो नियन्त्रण कायम राखे र आफूले सम्भव भएसम्म प्रतिरोध गर्ने घोषणा गरे।
३० अप्रिलमा नाटो वायुसेनाले त्रिपोलीमा गद्दाफीको बाब अल-अजिजियामा आक्रमण गर्दा उनका कान्छो छोरा सैफ अल-अरब र तीन नातिनातिना मारिए। यस हमलामा गद्दाफीलाई निशाना बनाइएको थियो तर, उनी बाँचे।
गद्दाफीको मृत्यु
सन् २०११ जुन २७ मा गद्दाफी उनका छोरा र गुप्तचर प्रमुखविरुद्ध गिरफ्तार गर्न वारेन्ट जारी गरिएको थियो।
अगस्टमा विद्रोहीहरू राजधानी त्रिपोलीमा प्रवेश गरे र गद्दाफीको मुख्यालय बाब अल-अजिजिया कम्पाउन्ड कब्जा गरे। तर, गद्दाफीको बारेमा केही पत्ता लाग्न सकेन। धेरै अडिओ सन्देशहरूमा उनले लिबियाली जनतालाई विद्रोहीविरूद्ध खडा हुन अपील गरे।
विद्रोहीले गद्दाफीको बारेमा जानकारी दिनेलाई १.१७ मिलियन डलर पुरस्कारको घोषणा पनि गरे।
यस्तो अवस्थामा सिर्ते नामक तटीय शहरलाई घेराबन्दी गरिएको थियो र केही स्रोतकाअनुसार गद्दाफी र उनका केही समर्थकले घेरा तोडेर भाग्ने प्रयास गरेका थिए।
कारमा सवार गद्दाफी र उनका साथीहरू विपक्षी लडाकुहरूबाट बच्न खोजिरहेका थिए। गद्दाफीका सेना प्रमुख अबु बकर युनुस र छोरा मोतासिम पनि गाडीको लस्करमा सामेल थिए। सोही समयमा नाटोका लडाकु विमानले आक्रमण गरे।
यस नाटो आक्रमणमा हतियारले सुसज्जित १५ गाडी ध्वस्त भए। तर, गद्दाफी र उनका केही साथी यस हमलामा बाँचे।
गद्दाफी दुई ठूला ड्रेनेज पाइपमा लुकेका थिए । केही समयपछि गद्दाफीका विरोधी लडाकु पनि त्यहाँ पुगे।
सलिम बेकर नामका लडाकुले पछि रोयटर्सलाई भनेका थिए – पहिले हामीले गद्दाफी र उनका मानिसलाई एन्टी-एयरक्राफ्ट बन्दुकले गोली हानेका थियौं, तर त्यसको कुनै फाइदा थिएन।
त्यसपछि हामी पैदलै उनीहरूतिर गयौँ। जब हामी गद्दाफी र उनका साथीहरू लुकेको ठाउँ नजिक पुग्यौं, अचानक गद्दाफीका लडाकुमध्ये एक जना आफ्नो बन्दुक हावामा हल्लाएर बाहिर निस्के र मलाई देख्ने बित्तिकै उसले ममाथि गोली चलाउन थाल्यो।
ती लडाकुले मेरो मालिक यहाँ छ, मेरो मालिक यहाँ छ र उनी घाइते छन् भनेर चिच्याए। हामीले गद्दाफीलाई बाहिर निस्कन जबरजस्ती गर्यौं। त्यतिबेला के भइरहेको छ भनेर सोधेँ।
अर्का प्रत्यक्षदर्शीले गद्दाफीलाई देख्नेबित्तिकै ९ एमएम बन्दुकले गोली हाने। यसपछि गद्दाफी गम्भीर घाइते अवस्थामा पक्राउ परेका थिए।
कतारको अल-जजिरा टिभी च्यानलमा देखाइएको फुटेजमा गद्दाफी गम्भीर घाइते भएका थिए र उनका विपक्षी लडाकुले उनलाई त्यही अवस्थामा कुटिरहेका थिए।
त्यसपछिका घटनाहरूको क्रम स्पष्ट छैन। तर, लिबियाको अस्थायी राष्ट्रिय परिषद्का प्रधानमन्त्री महमूद जिब्रिलले पछि पत्रकारलाई भनेका थिए – गद्दाफीको पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु बन्दुकको गोली लागेर भएको हो। गद्दाफी जिउँदै समातिए र उनले कुनै प्रतिरोध गरेनन्। उनलाई गाडीमा लगेर लैजाँदै गर्दा दुवै तर्फबाट लडाकुहरूले गरेको गोलाबारीको बीचमा गाडी आयो र गद्दाफीलाई गोली लागेको थियो।
‘खिलाफतको सपना’
गद्दाफी एक तानाशाह थिए, जसले चार दशकसम्म लिबियामा शासन गरे । तेल र अन्य धेरै व्यवसायका कारण उनको परिवार धनी भयो। भनिन्छ – गद्दाफीको नीति बफादारी किन्न थियो, जसअन्तर्गत उनले सम्पत्ति बाँडे।
अर्कोतर्फ गद्दाफीले धेरै परियोजना सुरु गरे, जसमध्ये एउटा देशको उत्तरमा पानी उपलब्ध गराउने थियो।
उनी आफ्नो पहिरनका लागि मात्र होइन, आफ्नो बयानका कारण पनि चर्चित थिए। यस्तै वक्तव्यमा उनले प्यालेस्टिनी र इजरायली एउटै राज्यमा एकताबद्ध हुनुपर्ने बताएका थिए किनभने दुई छुट्टाछुट्टै राज्य बनाउन पर्याप्त जमिन थिएन।
उनी अरब लिगको बैठकमा चुरोट पिउँथे र आफूलाई अफ्रिकाका ‘राजाहरूका राजा’ भन्थे।
गद्दाफीको विचारधारा पनि समयसँगै परिवर्तन हुँदै गयो। सुरुमा उनले अरब राष्ट्र एकताको नारा दिए र आफूलाई जमाल अब्दुल नासेरजस्ता अरब राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गरे।
तर, जब उनले यो सपना साकार गर्न गाह्रो छ भन्ने महसुस गरे, अफ्रिकातिर हेर्न थाले र आफूलाई अफ्रिकाको नेताको रूपमा प्रस्तुत गर्न थाले।
त्यसपछि एक समय यस्तो आयो, जब उनले इस्लामिक संसारमा ध्यान दिन थाले र सुन्नी र शिया बीचको मतभेद अन्त्य गर्न उत्तरी अफ्रिकामा दोस्रो फातिमी खिलाफत स्थापना गर्नुपर्ने पनि बताए।