मिरिक: मिरिक महकुमास्थित २४ नम्बर समष्टिका सभासद मिलेश राईले क्षेत्रबाट बेरोजगारी उन्मुलनमा सबैभन्दा महत्व युवाहरुको मानसिकताले राख्ने बताउँदै स्व निर्भरताको दैलो खोल्न युवाहरु जागरुक बन्नु पर्ने संदेश दिँदै आएका छन्। यसक्रममा उनी आफै उदाहरण बनेर मिरिकमा श्रम संस्कारको विकास गर्न अग्रसर बनेका छन्। श्रमको कुनै स्तर नहुने र जुनै श्रमको सम्मान गर्ने संस्कार युवाहरुमा जागृत गराउने प्रयास सभासद राईले गरिरहेका छन्। उनी यतिबेला जीटीए सभामा जान अघि आफ्नो समष्टिले झेलिरहेका समस्याहरु बुझ्न भ्रमण गरिरहेका छन् साथमा चुनौतीहरुलाई अंगिकार गर्दै स्थानीयहरुसितै मैदानमा खटिरहेका छन्। आफूले निर्देश मात्रै दिएर हुदैन आफूले काममा हात नबढाएसम्म आफूले सोचेको जस्तो परिवर्तन असम्भव रहने तथ्यको आत्मसात गर्दै मिलेश राई आफ्नो निम्ति आफै खटौ भन्ने धारणामा विश्वास राख्छन्। यसै सोचको फलस्वरूप मङ्गलबारको दिन मिरिकको सबैभन्दा प्रसिद्ध पर्यटकीय स्थल स्विस कटेज तर्फ जाने सडकको सफाईमा सभासद जुटेको देखियो। उनीसितै अन्य स्वंयसेवी साथै स्विस कटेजको कर्मचारीहरुले पनि श्रमदान दिएका थिए।
युवाहरुलाई मानसिक रुपमा बलियो बन्ने आहवान गर्दै सभासद मिलेश राईले आफ्नै अवधारणामा सफाइ अभियान चलाएका छन्l स्विस कटेजका कर्मचारी सुरेन तामाङको विचार यस्तो छ। उनी थप भन्छन्, ‘सभासदको सोच अनि विचार उच्च छ। श्रमको सम्मान गर्न उनी पछि पार्दैनन। सभासदले हामीसितै उभेर काम गरिरहेका छन् जो पहाडमा बिरलै देखिन्छl’










