झापा: गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’लाई पुनः वार्तामा आउन आह्वान गरेको छ। गत २३ जनबरीमा गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहलाई पुनः वार्तामा आउन आग्रह गरेका हुन्।
४ फरबरी मा ‘नो केबलकार’ समूहले सरकारसँग ६ बुँदे सहमति भएपछि समूहले आन्दोलन स्थगित गरेको थियो। तर, ९ फरबरी मा मन्त्रालय र आन्दोलनरत पक्षको वार्ता विनानिष्कर्ष टुंगिएपछि समूहले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको थियो। विज्ञप्तिमा पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएको समस्याकोे शान्तिपूर्ण समाधानका लागि टोली सक्रिय रहेको उल्लेख गरिएको छ। तर, वार्ता समिति पदाधिकारीले भने कर्मचारीसँग वार्ता गर्न अस्वीकार गर्दै राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने सर्त राख्दै आएका छन्।
ताप्लेजुङमा रहेको पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयलाई लिएर पछिल्ला दिनमा तनाव चुलिँदै गएको छ। लिम्बूहरूको मुक्कुम्लुङ पाथीभारा तीर्थस्थल मासिने भन्दै स्थानीय लिम्बू समुदायमध्येका केहीले ‘नो केबलकार’ भन्दै आन्दोलन गर्दै आएका छन्। अर्कोतिर केही दिनअघि केबलकार निर्माणको पक्षमा पनि ठुलो जनप्रदर्शन भएको थियो।
बिहीबार प्रहरी र आन्दोलनकारीबिचको झडपमा १३ जना घाइते भएका छन्। प्रदर्शनमा जनपद प्रहरीतर्फ ६ जना घाइते भएको र सशस्त्र प्रहरीतर्फ पाँचजना सुरक्षाकर्मी घाइते भएका थिए।