राजबिराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
राजबिराज: मुस्लिम समुदायको सशक्तीकरण र अधिकार प्रवर्द्धनका लागि आयोजित एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आज राजबिराजमा सम्पन्न भएको छ। मुस्लिम आयोगको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीले गरेका थिए।
कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आयोग गम्भीर भएर मुस्लिम समुदायका मुद्दामा काम गरिरहेको बताए। उनले मुस्लिम समुदायको शिक्षा, रोजगारी, आर्थिक अवस्था र सामाजिक पहिचानको प्रवर्द्धनका लागि आयोगले आवश्यक नीतिगत पहल गरिरहेको उल्लेख गरे। उनले भने, ‘मुस्लिम आयाेग मुस्लिम आन्दाेलनकाे उपज हाे। यसका लागि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनकाे तीनजना याेद्धाले शहादत दिएका छन्। त्यसकारण मुस्लिम आयाेगले आफ्नाे परिधिमा रहेर नीतिगत कामहरू गर्दै आएकाे छ। नीतिगत समस्या हल नभएसम्म कुनै कुरा कार्यान्वयनमा आउन सक्दैन। त्यसकारण नीतिगत लडाइ हाम्राे प्राथमिकतामा रहेकाे छ।’
पूर्वमन्त्री तथा कार्यक्रमका रिसाेर्स पर्सन मोहम्मद जाकिर हुसैनले मुस्लिम समुदायलाई राष्ट्रनिर्माताको रूपमा व्याख्या गर्दै भने, “मुस्लिम समुदाय देशका लागि योगदान दिने ऐतिहासिक समुदाय हो तर मानव विकास सूचकाङ्कमा यसको अवस्था सवभन्दा दयनीय छ। यसको सुधारका लागि राज्य र समुदाय दुवै जिम्मेवार छन्।”
पूर्वमन्त्री अनिस अन्सारीले राजनीतिक दलहरूप्रति असन्तोष व्यक्त गर्दै भने, “सबै राजनीतिक दलहरूले मुस्लिम समुदायलाई केवल भोट बैंकको रूपमा प्रयोग गरेका छन्। अब समुदायकाे हकहितका लागि मुस्लिमहरू एकजुट भएर आन्दोलन गर्नु आवश्यक छ। अरूको झण्डा मात्रै बोक्दैमा मुस्लिम समुदायको उत्थान सम्भव छैन।”
राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले मुस्लिम आयोगलाई महिला सशक्तीकरणमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिँदै भनिन्, “नेपालमा सबैभन्दा बढी अशिक्षित तब्का मुस्लिम महिला हाे। मुस्लिम महिलाहरूलाई शिक्षामा अगाडि बढाउन विशेष कार्यक्रम आवश्यक छ।”
राजपा नेता माेहम्मद युसुफले भने, “मुस्लिमलाई ठग्ने काम धेरै भयाे। संविधानले दिएका अधिकारहरूसमेत हामीलाई सदुपयाेग गर्नबाट वञ्चित गरिएकाे छ। आयाेगले ऐनहरू संशाेधनमा जाेड दिनुपर्दछ र सरकारले समुदायका कामहरू गरे नगरेकाे मूल्याङ्कन गर्दै साे अनुसारकाे नीतिगत लडाइ लड्नु पर्छ।”
यसैगरी, सुनसरीका मौलाना सहाबुद्दीन मदनीले मुस्लिम समाजका साझा मुद्दामा एकताको आवश्यकता औंल्याउँदै भने, “मुस्लिम समुदायका अधिकार, शिक्षा, रोजगारी र पहिचान प्रवर्द्धनका लागि सबै मुस्लिम संघसंस्था र समुदायका अगुवाहरू एकजुट हुनुपर्छ।”
कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठन, सुनसरीका अध्यक्ष तुफैल अहमद अन्सारी, ई. अब्दुल गनी, कलीम, पत्रकार माेहसिम अन्सारीलगायतका मुस्लिम समुदायका विभिन्न बुद्धिजीवी, धार्मिक अगुवा, राजनीतिकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मुस्लिम आयोगले आगामी दिनहरूमा देशभर यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ।