भुवनेश्वर: भारतीय पुरुष हकी टीमले शुक्रवार एफआईएच प्रो लीगमा एक गोलले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै आयरल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। यसरी भारतीय महिला हकी टीमको निराशाजनक प्रदर्शनको क्रम चाहिँ जारी रह्यो। भारतीय महिला टीमले जर्मनीविरुद्ध ०-४-ले हारको सामना गर्नु पऱ्यो। आयरल्याण्डविरुद्ध म्याचमा भारतीय टीमले शुरुमै गोल खायो। जेरेमी डंकनले आठौं मिनटमै मैदानी गोल गरी भारतीय समर्थकहरूलाई स्तब्ध पारे। त्यसपछि भारतले पनि मनदीप सिंहको गोलको सहायताले २२औं मिनटमा बराबरी हासिल गऱ्यो। त्यसपछि जरमनप्रीत सिंह (४५औं मिनट) र सुखजीत सिंह (५८औं मिनट)-ले पेनल्टी कर्नरबाट १-१ गोल गरी भारतलाई जीत दिलाए। भारतले अब आयरल्याण्डविरुद्ध अझ एउटा म्याच खेल्नेछ। भारत अहिले ५ वटा म्याचमा ९ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। म्याचको पहिलो क्वार्टरमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टीममाथि दबाउ सृष्टि गऱ्यो। यसै क्रममा डंकनले आठौं मिनटमा भारतीय गोलकीपर कृष्ण बहादुर पाठकलाई परास्त गरी गोल गरे।
भारतले दोस्रो क्वार्टरमा तेजीको साथ आक्रमण शुरु गऱ्यो, जसमा सुखजीतले गोलको असल प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन्। आयरल्याण्डको डिफेन्स मजबूत देखियो तर मनदीपले २२औं मिनटमा शक्तिशाली शट्द्वारा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। तेस्रो क्वार्टरमा भारतले बढ़त हासिल गर्ने प्रयास जारी राख्यो अनि अन्तमा ४५औं मिनटमा भारतलाई पेनल्टी कर्नरबाट मौका हासिल भयो। हरमनप्रीत सिंहको ड्र्याग फ्लिकलाई आयरल्याण्डका गोलकीपरले रोके पनि जरमनप्रीतले तेजीको साथ रिबाउण्डमा गोल गरी भारतलाई बढ़त दिलाए। अन्तिम १५ मिनटमा भारतले गोल गर्ने लगातार मौका बनायो। अन्तिम क्वार्टर समाप्त हुन केही मिनट अघि भारतलाई पेनल्टी कर्नर प्राप्त भयो अनि दबाउमा रहने आयरल्याण्डका ल्यू विथ्रोलाई पहेंलो कार्ड देखाइयो। हूटर बज्न एक मिनट अघि सुखजीतले भारतको निम्ति तेस्रो गोल गरे।
यसबीच भारतीय महिला हकी टीमले चाहिँ जर्मनीविरुद्ध ४-०-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा विजेता टीमबाट सोफिया श्वाबेले १८औं र ४७औं मिनटमा २ गोल गरिन्। यसबाहेक एमिली वोर्टम्यानले तेस्रो मिनटमा मैदानी गोल र जोहाने हेचेनबर्गले ५९औं मिनटमा पेनल्टी कर्नरबाट गोल गरिन्। जर्मनीले म्याचमा १० वटा पेनल्टी कर्नर हासिल गऱ्यो जबकि भारतलाई केवल २ वटा पेनल्टी कर्नर प्राप्त भयो। भारतले जर्मनीविरुद्ध फेरि म्याच खेल्नेछ। भारतीय महिला टीम ४ वटा म्याचमा ६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। यसरी जर्मनी ६ वटा म्याचमा ७ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ।