सिक्किम विधानसभाः पहिलो अनुपूरक अनुदान मागसँगै नौवटा विधेयक पारित

IMG-20250221-WA0296

गान्तोक: सिक्किम सरकारको वर्ष २०२४-२५को पहिलो अनुपूरक अनुदान मागलाई आज राज्य विधानसभाले पारित गऱ्यो। एगारौं राज्य विधानसभाको दोस्रो सत्रको तेस्रो भागअन्तर्गत आज बसेको एक दिवसीय अधिवेशनमा मुख्यमन्त्री एवं प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले राखेको अनुपूरक अनुदान मागलाई सदनले ध्वनीमतले पारित गरेको हो। यसको साथै आजको सदनले अधिल्ला सदनहरूमा प्रस्तुत गरिएका पाँचवटा संशोधन विधेयकलगायत जम्मा नौवटा विधेयक पनि पारित गऱ्यो जसमा सिक्किम म्यूनिसिप्यालिटी (एमेण्डमेन्ट) बील प्रमुख छ। यस संशोधित विधेयकअनुसार राज्यमा फेरि स्थानीय शहरी निकायको चुनाउ राजनीतिक पार्टीगत हुनेछ। उल्लेखनीय छ, वर्तमान एसकेएम सरकारले राज्यमा स्थानीय शहरी निकाय साथा पञ्चायत चुनाउलाई गैरपार्टीगत तथा स्वतन्त्र गराएको थियो। तर, केही महिना अघि मुख्यमन्त्री तामाङले दुवै स्थानीय शहरी निकाय र पञ्चायत चुनाउ पुनः पार्टीगत गर्ने सार्वजनिक रुपमा घोषणा गरेका थिए। आज पारित गरिएका अन्य विधेयकहरूमा महात्मा गान्धी यूनिभर्सिटी सिक्किम (एमेण्डमेन्ट) बील, सिक्किम मोटर भेहिकल्स ट्याक्सेशन (एमेडमेन्ट) बील, स्वास्तिक यूनिभर्सिटी सिक्किम बील, ट्रिडेन्ट यूनिभर्सिटी अफ् एप्लाइड साइन्सेस सिक्किम बील, श्री भेङ्काटेश्वर यूनिभर्सिटी बील, सिक्किम मोडल स्कूल बील, सिक्किम पुलिस डिमाण्डस रिकभरी (एमेण्डमेन्ट) बील र महात्मा गान्धी यूनिभर्सिटी सिक्किम (एमेण्डमेन्ट) बील रहेको छ। सदनको कार्यवाहीअवधि स्टेट पलुशन कन्ट्रोल बोर्डको वर्ष २०२२-२३ र २०२३-२४को वार्षिक प्रतिवेदन साथै सिक्किम पुलिस सर्विस कमिशनको वर्ष २०२२-२३को वार्षिक प्रतिवेन पनि प्रस्तुत गरियो।
एक दिवसीय सदनमा धन्यवाद प्रस्ताव राख्दै सदनका नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकार राज्यमा एकता, भाइचारा र जातीय एवं साम्प्रदायिक सद्भावना कायम राख्न कटिवद्ध रहेको बताए। आफ्नो सरकारले शुरुदेखि नै राज्यमा जातीय एकता र सद्भावनाको निम्ति काम गरिरहेको दावी गर्दै सरकार गए पनि सिक्किमलाई जात-जातमा विभाजन हुन नदिने मुख्यमन्त्री तामाङले बताए। यसको साथै विपक्षी पार्टीहरू अनि केही बाहिरी शक्तिले सिक्किमको शान्ति र जातीय सद्भावनालाई बिथोल्ने प्रयास गरिरहेको पनि उनले आरोप लगाए। अर्कोतिर एसकेएम सरकार राज्यका छुटेका १२ जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउन कटिवद्ध रहेको मुख्यमन्त्री तामाङले थप बताए।
धन्यवाद प्रस्ताव कार्यक्रममा सहभागिता जनाउँदै मन्त्रीहरू अरुण उप्रेती र राजु बस्नेत अनि विधायक श्रीमती कला राईले भर्खरै देशको एउटा राष्ट्रीय सञ्चार गृहले मुख्यमन्त्री प्रेमसंह तामाङलाई दोस्रोपल्ट आफ्नो राज्यमा देशकै सर्वाधिक लोकप्रिय मुख्यमन्त्री चयन गरेकोमा बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement