चिनियाँ सहयोगमा निर्माणाधीन रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा

IMG-20250221-WA0285

काठमाण्डौँ: नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ।
नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी दिनुभयो। एउटा गोदामघर, खोलाको पर्खाल निर्माण, सडकमार्ग तयार भइसकेको र प्रशासनिक भवन, एउटा गोदाम, पार्किङ स्थल ढलानको काम भइरहेको गजुरेलले जानकारी दिए।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ। आधुनिक प्रविधिसहित निर्माण गरिएको बन्दरगाहभित्र भन्सार चेकजाँच, अध्यागमन, प्रशासनिक कामलगायत सुविधा रहने समितिले जनाएको छ। ३५० गाडी पार्किङको समेत व्यवस्था छ।
छिमेकी देश चीनको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह निर्माणको काम अगाडि बढाएको हो। बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ।
रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ।
बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ। बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन्। त्यस्तै कार्गो गोदाम र दुई वटा भवन रहने छन्। समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन्।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको बिसाखापटनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ। अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी नरेश कटुवालले जानकारी दिए।
रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने उहाँको भनाइ छ। रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ।
चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ। तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ। अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ।
चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाकाकेन्द्रित काम गरिरहेको छ। अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ। सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ। प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ।
यसैबिच पछिल्लो समय रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन्। नेपालबाट जडीबुटी, बाँसका मुढा, मूर्तिलगायतका सामान चीन निर्यात हुने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement