चियाबारीको ३०% जमीन उद्योगपतिलाई दिने राज्य सरकारको योजना मजदुर विरोधी छ: भाजपा

IMG-20250221-WA0281

दार्जिलिङ: चियाबारीको ३०% जमीन उद्योगपतिलाई दिने राज्य सरकारको योजना मजदुर विरोधी छ भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले बताएको छ। भाजपा दार्जिलिङ जिल्ला समितिले आज भनेको छ पहाड, तराई र डुवर्सको चियाबारीको ३०% जमीन अन्य योजनाको निम्ति उद्योगपतिहरुलाई दिने मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणापछि शुरु भएको प्रतिवाद अब रोकिने छैन अनि चियाबारीको जमीनमा दखल दिने राज्य सरकारको नियत विध्वंसकारी छ भनी बताएका छन्। यसरी नै उत्तर बंगाल लगायत दार्जीलिङ पहाडलाई अब बंगालको शोषणबाट उन्मुक्त नगरेसम्म यहाँको जनतालाई शान्ति छैन भनी बताएका छन्। आज यही परिपेक्ष्यमा भाजपाको जिल्ला प्रतिनिधि मण्डलले एक ज्ञापन पत्र स्थानीय जिल्ला शासक कार्यालय बुझाएको छ। उनीहरुले दावी गरेका छन्- राज्य सरकारको नीति ठिक नहुँदा पहाडको चियाबारी बन्द हुँदैछन्। मजदुरहरु पलायन हुँदैछन्। दार्जिलिङ जिल्ला भापजा अध्यक्ष कल्याण देवानले भने, यसप्रति सरकारको चिन्ता छैन। उल्टा यहीँ निहुँमा चियाबारीमा ठूलाठूला होटल र रिसोर्टहरु निर्माण गरी चियाबारीका जनतालाई हटाउने षड्यन्त्र गर्दैछन्। यसको हामी घोर प्रतिवाद गर्छौ। जनता मारेर मालिकहरु पोसाउने नीति अविलम्ब बन्द नगरे पहाड,तराई र डुवर्समा आगो लाग्नेछ।’
उनले अघि भने, सरकारलाई हामी सावधान गर्न चाहन्छौं। हामी यहाँको रैथाने हौँ। हाम्रो पुर्खाको रगत र पसिनाले यो भूमि उर्वर बनाएको छ। हामीलाई उत्छेद गराएर कसैलाई यहाँ उद्योग चलाउन खुला बाटो दिने गर्छ भने हामी रगत दिनु तैयार छौँ। बरु हामी मर्छौ तर हाम्रो अस्तित्व मास्ने राज्य सरकारको नीति विरुद्ध लडनेछौं। यस्तो आशयको जानकारी जिल्ला अधिकारी मार्फत हामीले सरकारलाई जनाई दिएका छौं।’
देवानले अझ भने, यो मुद्दा अब पहाडको लागि जीवन मरणको मुद्दा बनेको छ। हामी सबैलाई अपील गर्छौ पहाडको दलहरु अब राज्य सरकारको कटपुतली नहुनुहोस्। यता माटो र जातिको कुरा गरेर उता राज्य सरकारसित तालमेल गर्ने चाल पनि पहाडबासीको लागि धोका हो। सङलो नियत लिएर पहाड बचाउने अभियानमा सबै लागौं भन्ने हामी आह्वान गर्छौ।’

About Author

Advertisement