दार्जीलिङ: पर्यटकीय स्थलहरूमध्ये अधिकतर प्रसिद्धि कमाएका मकालु गाउँपालिकाको आयोजन तथा मकालु साहित्य समाज, दक्षिण एसियाली साहित्य साँस्कृतिक संगठनको विशेष सहयोगमा प्रथम पटक नेपालको शँखुवासभा अन्तर्गत नुम बजारमा आगामी २६-२७ फरवरी २०२५ दुई दिवसीय रङ्गारङ्ग कार्यक्रमको साथमा दक्षिण एसियाली साहित्य साँस्कृतिक सम्मेलन तथा मकालु प्लेटिनम जुबली भव्यरुपमा सम्पन्न हुने जानकारी आयोजक समितिको पक्षमा मकालु साहित्य समाज तथा दक्षिण एसियाली साहित्य साँस्कृतिक सम्मेलनका अध्यक्ष तारा बहादुर बुढाथोकीले एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।
समारोहमा आयोजकको पक्षमा वरिष्ठ साहित्यकार साथै प्रतिनिधि रन काफ्लेको अगुवाईमा उत्तर पूर्वी क्षेत्रका सर्जक साथै कलाकारहरु समारोहमा अंशग्रहण गर्नेछनन् भने समारोहमा विशेषरुपमा दार्जीलिङबाट डा. नीना राई अनि डा साङ्मू लेप्चा, सिक्किमबाट लुईस विष्ट, कृष्ण ढुंगेल, हाफिजुर रहेमान, नजरुल ईस्लामलगायत अन्यको उपस्थिति रहने थाह लागेको छ।
उक्त समारोहमा विशेषगरी देश विदेशबाट धार्मिक पर्यटकलाई आकर्षण गर्न र प्रथम मकालु हिमाल चढेको सम्झना गर्दै सत्तर वर्ष बितेको उपलक्ष्यमा प्लेटिनम जुबली पालनको मुख्य उदेश्य रहेको छ। यस दुई दिवसीय समारोहमा भारत, भूटान, म्यानमार, बङ्गलादेश नेपाललगायतका देशबाट स्रष्टाहरूलाई समावेश गराउने जमर्को आयोजन समितिद्वारा गरिएको छ। प्रकृति र सांस्कृतिक सम्प्रदाले परिपूर्ण नेपालकै मकालु हिमाली क्षेत्रका वरुण नदी, शिवधारा, पार्वती गुफा, वरुण पोखरी, जस्ता महत्वपूर्ण ऐतिहासिक स्थान ले सुसज्जित मकालु गाउँपालिकाको अवलोकन साथै किरात, हिन्दु, बुद्ध धर्मले मानिलिएको आध्यात्मिक मान्यताको दर्शन गराउनु स्थानीय वासीहरु र सरकारको ठूलो पदक्षेप हुनगएको छ। भनिन्छ, स्वयं भगवान माता पार्वती र भगवान् शिवले विचरण गरेको पवित्र भूमिको कथा ऋग्वेद, अथर्ववेद जस्ता ग्रन्थमा उल्लेख पाईन्छ। “जलविम्वेय नम: निलपुरुषाय धिमही: तन्नो वरुण प्रचोदयात” जस्ता धार्मिक मन्त्रको रचना गरिएको क्षेत्रमा सम्पूर्ण भक्त प्राणलाई उपस्थित रहेर कार्यक्रम सफल तुल्याई दिने आयोजक समितिका प्रमुख एडमिनिस्ट्रेशन अफिसर इन्द्र बहादुर दर्जी, उपाध्यक्ष मकालु गाउँपालिका मनकला राई, अध्यक्ष मकालु गाँउपालिका आङ्दि छिरिङ सेर्पा, रण काफ्ले आदिले आह्वान गरेका छन्।
यसै अन्तराष्ट्रिय समागममा दार्जीलिङबाट वरिष्ठ नारी हस्ताक्षरद्वय डा. साङ्मू लेप्चा अनि डा. नीना राईको सहभागिता रहनेछ। समारोहको निम्ति डा. लेप्चा अनि डा. राई २४ फरवरीको दिन समारोहको निम्ति प्रस्थान हुनेछन्। भारतीय नेपाली साहित्यको अथक सेवा पुर्याउँदै आउने दुई नारी हस्ताक्षरमा समारोहको निम्ति सम्पूर्ण भाषा साहित्यप्रेमीहरुद्वारा अग्रिम शुभकामना व्यक्त गरेका छन् भने आयोजक समितिप्रति यस निमन्त्रणाको निम्ति आभार प्रकट गर्दै समारोह सफलताको निम्ति शुभकामना व्यक्त गरेका छन् भनी पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।








