पर्यटन मन्त्रीद्वारा निर्माणाधीन अष्टचिरञ्जीवी धामको निरीक्षण

IMG-20250219-WA0247

गान्तोक: राज्यका पर्यटन मन्त्री छिरिङ टी. भोटिया, विधायक सञ्जीत खरेल, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज गुरूङ, विभागका सचिव प्रकाश छेत्री लगायत अन्य अधिकारीहरूले आज दक्षिण सिक्किमको नामथाङ रातेपानी क्षेत्रका वासिन्दाहरूसँग उक्त क्षेत्रमा गरिने पर्यटन विकासका कामहरूलाई लिएर चर्चा गरे। यस अवसरमा मन्त्रीले विशेष गरेर नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत नागीमा निर्माणधीन अवस्थामा रहेको अस्टचिरञ्जीवी धाम परियोजनाको पनि निरीक्षण गरे।
मन्त्री भोटियाले उक्त परियोजना समयमा नै पूरा हुने आशा व्यक्त गर्दै यस पूर्वाधारले क्षेत्रमा पर्यटनको विकास हुने बताए। उनले उक्त परियोजना पुरा गर्नको निम्ति सरकार र विभागको पक्षबाट आवश्यक सहयोग प्रदान गरिने पनि थप बताए। परियोजनाको निर्माणकार्य पूरा भएपछि यसलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट विधिवत लोकार्पण गरिनुपर्ने मन्त्रीले विचार व्यक्त गरेका छन्।
मन्त्री भोटियाले राज्यमा पर्यटनको अपार सम्भावनालाई विकास गरेर राज्यलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न मुख्यमन्त्री तामाङको अथक प्रयासको सराहना गरेका छन्। नामथाङ रातेपानी क्षेत्रमा पर्यटनलाई बढ़ावा दिने र दिगो बनाउने प्रतिवद्धतालाई दोहोऱ्याउँदै मन्त्रीले यस ठाउँमा निरन्तर काम गर्ने आश्वासन पनि दिए।
यसरी नै विधायक सञ्जित खरेलले मन्त्री, मुख्यमन्त्रीका सल्लाहकार, पर्यटन विभागका सचिव, विभागका अधिकारीहरू र स्थानीयवासीहरूलाई समय निकालेर क्षेत्रको भ्रमण गर्न र चलिरहेका परियोजनाहरूको समीक्षा गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement