परिवर्तनको दिशा: कोलकाताका २९% अटो चालक ई-अटोमा स्विच गर्न इच्छुक

IMG-20250219-WA0183

कोलकाता: इण्डिया क्लिन एयर नेटवर्क र स्विचअन फाउन्डेसनले टालीगन्ज अटो यूनियनसँग मिलेर अटो चालकहरूलाई विद्युतीय सवारीसाधन (ईभी) तर्फ स्थानान्तरण गर्न प्रवर्द्धन गर्ने उद्देश्यले गोलमेच छलफलको आयोजना गर्यो। यस कार्यक्रमको उद्देश्य यातायातको दिगो माध्यमलाई अंगाल्ने विषयमा अटो चालकहरूको रुचि, चुनौतीहरू र चिन्ताहरूको मूल्यांकन गर्नु थियो। यो छलफलमा अटो युनियनका प्रतिनिधिहरू, विश्वविद्यालयका प्राध्यापकहरू, तथा मोबिलिटी विशेषज्ञहरूसहित विभिन्न सरोकारवालाहरू संलग्न थिए। छलफलको क्रममा पेट्रोल, एलपीजी र सीएनजीमा चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिन आवश्यक रहेको कुरामा जोड दिइयो।
टलीगन्ज अटो यूनियनका सचिव राबिन बिजाली, मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक, ई-अटो डिलरहरू तथा कोलकाताका अटो चालकहरूले प्रत्यक्ष रूपमा छलफलमा भाग लिए। असर सोशल इम्प्याक्टका मोबिलिटी विशेषज्ञ संजीव गोपाल, सिद्धार्थ श्रीनिवास, र अच्युतन भर्चुअल रूपमा सहभागी भए। स्विच अन फाउन्डेसनका कार्यकारी सल्लाहकार तथा इण्डिया क्लिन एयर नेटवर्कका सह-अध्यक्ष अजय मित्तलले अटो चालकहरूलाई आवश्यक ज्ञान र स्रोतहरू प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “अटो चालकहरूलाई ई-अटोमा परिवर्तन गर्न आवश्यक ज्ञान र उपकरण उपलब्ध गराउनु नै कार्यशालाको मुख्य उद्देश्य हो। सरोकारवालाहरूसँग मिलेर काम गर्दा यस रूपान्तरणलाई सहज र आर्थिक रूपमा प्रभावकारी बनाउन सहयोग पुग्नेछ।”
एक प्रतिष्ठित अटो उद्योगका ईभी विभाग प्रमुखले भने, “हाम्रो कम्पनीले निर्माण गरेको ई-अटो नवीनतम प्रविधिसहित आउँछ। यसमा ९ किलोवाटको ब्याट्री जडान गरिएको छ र ५ वर्षको वारेन्टी प्रदान गरिन्छ।”
भारतभर अटो-रिक्सा शहरी यातायातको महत्वपूर्ण हिस्सा हुन्। कोलकातामा १२५ पंजीकृत अटो मार्ग र ११,००० भन्दा बढी अनुमति प्राप्त अटो छन्। तर, यी तिपहिया सवारीसाधन वायु प्रदूषणको प्रमुख स्रोत पनि हुन्। द एनर्जी एन्ड रिसोर्सेज इन्स्टिच्युट (टीईआरआई) को २०२० को प्रतिवेदन अनुसार, कोलकाताको हावामा ११% पार्टिकुलर म्याटर उत्सर्जन अटोबाट आउँछ। २०१५ देखि, कोलकाता उच्च प्रदूषण स्तरकै कारण राष्ट्रिय स्वच्छ वायु कार्यक्रम (एनसीएपी) अन्तर्गत गैर-प्राप्ति क्षेत्र (नन-एटेनमेन्ट एरिया) को रूपमा सूचीकृत छ। वायु प्रदूषण न्यूनीकरण गर्न ई-अटो तर्फको रूपान्तरण एक महत्वपूर्ण उपाय हो। तथापि, सार्वजनिक स्वीकृति, पूर्वाधारको उपलब्धता, तथा लागत जस्ता चुनौतीहरूले यसको व्यापक स्वीकार्यता अवरुद्ध गरिरहेका छन्। टलीगन्ज मार्गमा अहिले नै ई-अटो सञ्चालन गरिरहेका एक चालकले भने, “ई-अटो धेरै राम्रो सवारीसाधन हो। म पहिला सीएनजी अटो चलाउँथे, तर इन्धन भर्न लामो लाइनमा कुर्नु पर्थ्यो। ई-अटोमा सहज चार्ज गर्न सकिन्छ, जसले मलाई २०० किमी यात्रा गर्न मद्दत गरेको छ।”
तर, सर्वेक्षणमा भाग लिएका अटो चालकहरूले ई-अटो तर्फ परिवर्तन गर्न निम्न चिन्ताहरू व्यक्त गरेका छन्:
७०% चालकहरूका अनुसार, सीएनजीमा इन्धन भर्ने समय कम लाग्ने भएकाले यसलाई प्राथमिकता दिन्छन्।
२९% ले इन्धन स्टेसनको राम्रो उपलब्धता रहेको कारण सीएनजीलाई रोज्ने बताए।
३२% ले ई-अटोमा ब्याट्री ब्रेकडाउनको जोखिम प्रमुख चिन्ता रहेको बताए।
२७% ले चार्जिङ स्टेशनहरूको अपर्याप्तता मुख्य चुनौती रहेको माने।
२१% ले ई-अटो चार्ज गर्न लाग्ने लामो समयलाई कमजोरीको रूपमा औंल्याए।
२०% ले सीएनजीको तुलनामा ई-अटोको ब्याट्री रेन्ज कम भएकोमा चिन्ता व्यक्त गरे।
टालीगन्ज अटो यूनियनका सचिव राबिन बिजालीले भने, “इलेक्ट्रिक सवारीसाधन तर्फको परिवर्तनले हामी चालकहरूको सञ्चालन लागत घटाउनेछ र वातावरणलाई स्वच्छ बनाउन योगदान गर्नेछ।”
यस छलफलको उद्देश्य कोलकातामा ई-अटो अपनाउने गतिलाई बढावा दिन व्यावहारिक रणनीतिहरू पहिचान गर्नु थियो। सरकारी अनुदान, चार्जिङ पूर्वाधार, तथा प्रविधि सुधारहरू सम्बन्धी जानकारी आदानप्रदान गरी अटो चालकहरूलाई आवश्यक ज्ञान प्रदान गरियो। इण्डिया क्लिन एयर नेटवर्क र स्विचअन फाउन्डेसनले “दिगो यातायातको दिशा: कोलकाताका अटो चालकहरूको ई-अटो अपनाउने इच्छा” (ए शिफ्ट टुवार्ड्स सस्टेनेबल ट्रान्सपोर्टेसन: विलिंगनेस कोलकाताज अटो ड्राइभर्स टु एम्ब्रेस ई-अटोस) शीर्षकमा एक अध्ययन पनि जारी गरे। यो अध्ययन टलीगन्ज मेट्रो, गरिया, रूबी, बल्लीगन्ज, तथा अन्य क्षेत्रमा गरिएको थियो, जसमा ४५३ प्रतिक्रियाहरू संकलन गरिएको थियो।
७१% अटो चालकहरूले सीएनजीलाई प्राथमिकता दिएका छन्, जबकि २९% ई-अटोमा स्विच गर्न इच्छुक छन्।
ई-अटो अपनाउने प्रमुख कारणहरू:
कम इन्धन खर्च (३९%)
सरकारी प्रोत्साहन (३१%)
वातावरणीय सरोकार (३०%)
यो छलफल तथा अध्ययन कोलकाताको शहरी यातायातलाई दिगो बनाउने दिशामा महत्वपूर्ण पाइला हो। जागरूकता फैलाएर तथा चुनौतीहरूको समाधान गरी यस्ता पहलहरूले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछन्, जसले वातावरण र अटो चालकहरू दुवैलाई दीर्घकालीन लाभ पुर्या-उनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement