नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले नयाँ प्रशिक्षक यान जेलेजनीले उनको तक्निकमा रहेको गल्तीहरू पत्तो लगाएको अनि अब उनी ९० मीटरको दूरीलाई हासिल गर्नको निम्ति थ्रो गर्ने तरिकामा केही फेरबदल गर्न तयार रहेको बताएका छन्। भारतका यस २६ वर्षीय स्टार एथलीटले एउटा साक्षात्कारमा गत महिना पूर्व टेनिस खेलाड़ी हिमानी मोरसँग आफ्नो बहुचर्चित विवाहबारे पनि कुरा गरे। नीरजले हिमानीसँग उनको सम्बन्ध पहिला साधारण मित्रता थियो अनि पछिबाट प्रेम भएको बताए। नीरज अहिले ९० मीटरको स्तरलाई छुन कठोर मेहनत गरिरहेका छन्। उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटरको रहेको छ, जुन उनले २०२२-मा हासिल गरेका थिए। उनले डायमण्ड लीगको साथ नयाँ सीजनको शुरुवात गर्नेछन् अनि यो उनको पूर्व ओलम्पियन तथा वर्ल्ड च्याम्पियन जेलेजनीसँग साझेदारीको शुरुवात पनि हुनेछ। जेलेजनीको नाममा यस खेलको वर्ल्ड रेकर्ड (९८.४८ मीटर) पनि रहेको छ। नीरजले भने, मेरो विचारमा ९० मीटरभन्दा अधिकको थ्रो चाँड़ै आउनेछ। उनले (यान जेलेजनी) मेरो खेलमा केही तक्निकी फेरबदल गरेका छन् । यस फेरबदलले मलाई फाइदा हुने उनको सोच रहेको छ। उनले मबाट के चाहन्छन् भन्ने मैले बुझिसकेको छु। उनले मलाई केही गल्तीहरू बुझाएका छन्। यसको साथमा नीरजले व्यक्तिगत माईलखुट्टी (९० मीटर) हासिल गर्नु भन्दा देशको निम्ति पदक जित्नु अधिक महत्त्वपूर्ण रहेको बताए। उनले भने, म यस्तो (९० मीटरभन्दा अधिकको थ्रो) गर्न चाहन्छु तर कुनै प्रतियोगितामा गएर ती ९० मीटरभन्दा अधिक थ्रो गरिसकेका प्रतिद्वन्द्वीहरूविरुद्ध पदक जित्नु अधिक महत्त्वपूर्ण छ। व्यक्तिगत सर्वश्रेष्ठ थ्रो गरेर पनि पदक जित्न नसके त्यसको कुनै महत्त्व रहँदैन। सबैले ९० मीटरभन्दा अधिकको दूरीमा भाला फ्याँक्न थाले अनि ९० मीटरको थ्रो गरेर पनि तपाईंले पदक जित्न नसके के हुनेछ? म भालालाई ९० मीटरभन्दा अधिकको दूरीमा फ्याँक्न सक्छु अनि सबैको यही मत रहेको छ। क्लस (बार्टोनिएट, नीरजका पूर्व प्रशिक्षक) – लाई पनि यस कुराको विश्वास थियो अनि जेलेजनीलाई पनि छ। म आफ्नो खेलमा लगातार सुधार गर्न चाहन्छु। यसमा समय लाग्नेछ तर परिणाम अवश्यै अघि आउनेछ।










