गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीकोआशीर्वाद र मुख्यमन्त्री तामाङको गतिशील नेतृत्वमा जनजातिको माग अवश्य पूरा हुने, ईकोस प्लस वानकाे विश्वास रहेको छ।
आज गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनमा ईकोस प्लस वानका पदाधिकारीहरूले हालैमा जनजाति मान्यता विषय दिल्लीमा आयोजना भएको बैठकबारे जानकारी गराउॅंदै, यो हासिल गर्न आफ्नो विश्वास देखाए।
यसो पत्रकार सम्मेलनमा आफ्नो मनताबया राख्दै, ईकोस प्लस वान का चेयरमेन डा. एसके राईले मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा गत १० फरवरीको दिन नयाँ दिल्लीमा आयोजित छुटेका १२ समुदायको जनजाति मान्यता विषय सिक्किम राज्य उच्चस्तरीय समितिको दोस्रो बैठक लाभदायक भएको बताए।
उनले विशेषज्ञहरूले तयार पारेको एथनोग्राफी रिपोर्ट आरजीआई, जनजाति मन्त्रालय, प्रधानमन्त्री लगायत अन्यहरूलाई बुझाउन अघि रिपोर्टको प्रमाणिकता सुनिश्चित गर्न पुनरीक्षण गराइने जानकारी गराए।
बैठकमा मुख्यमन्त्रीले जनजातिको निम्ति पहल गर्न अहिले उचित समय रहेको बताउॅंदै उपस्थित सबैको ध्यान आकर्षित गरेको उनले बताए।
छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्रीले हर सम्भव समर्थन र सहयोग गरिरहेका छन् भन्दै मुख्यमन्त्रीप्रति उनले कृतज्ञता व्यक्त गरे।
ईकोस प्लस वानका महासचिव एमके प्रधानले एथनोग्राफिक रिपोर्ट पारदर्शी रूपमा तयार भइरहेको र यसमा कुनै प्रकारको छलकपट नरहेको दाबी गरे। उनले यदि कसैलाई कुनै प्रकारको शंका लागेको खण्डमा संगठनका पदाधिकरीहरूसॅंग सोधपुछ गर्न आग्रह गरे। सिक्किम सरकारले राम्रो काम गरिरहेको बताउॅंदै उनले यस अभियानलाई सफल बनाउन सबैलाई समर्थन गरिदिन आह्वान गरे।










