मेथीबरीमा आध्यात्मिक युवा जागरण कार्यक्रम सम्पन्न

IMG-20250218-WA0261

सोनादा: मानव उत्थान सेवा समिति सुकना सालबारी शाखा एवम् हाम्रो इलाजघर मेथीबारीको संयुक्त आयोजनामा हाम्रो इलाज घरको प्रेक्षागृहमा आध्यात्मिक युवा जागरण सङ्गोष्ठी महात्मा महेश्वरी बाइजीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित महात्मा देवा बाइजी, महात्मा महेश्वरी बाइजी, कार्यक्रमका प्रमुख अतिथि साहित्यकार युवराज काफ्ले तथा अन्य अतिथिहरूको करकमलबाट मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको तस्वीर अघि दीप प्रज्वलन एवम् माल्यर्पण भई शुभारम्भ भएको उक्त सङ्गोष्ठीमा प्रज्ञा क्षेत्रीले मानसिक शान्तिको स्रोत अध्यात्म विषयमा, डा. रितु राईले राजविद्या र यसको महत्व बारेमा, सरोज गुरुङले जीवनको अर्थ र यसको खोजी बारेमा, कुमार योञ्जनले मानवले आफूले आफूलाई खोज्नु जान्नु नै वास्तविक धर्म’ शीर्षकमा आ-आफ्ना विचारहरू राखेका थिए। उक्त राखिएका विचारहरूलाई कि नोट तथा सारको रुपमा डा कुन्दन छेत्रीले प्रस्तुत गरेका थिए। सङ्गोष्ठीमा महात्मा देवा बाइजीले धर्म अध्यात्मको सार तत्त्व तथा अध्यात्म एवम् विज्ञानको समन्वय बारेमा आफ्ना विचारहरु प्रस्तुत गर्दै धर्म अध्यात्म भनेको आफूले आफूलाई तथा आफूभित्रको आत्माशक्तिलाई समयको तत्वदर्शी सद्गुरुको शरणमा परेर आत्मज्ञानलाई ग्रहण गरी ध्यान साधनाद्वारा अनुभव गर्नु रहेको कुरो सम्झाउँदै यस्ता सङ्गोष्ठिहरुले समाजलाई युवाहरुलाई आध्यात्मिक जागृति ल्याउने कुरोमा विश्वस्त रहेको कुरो बताए। त्यसरी नै समारोहका प्रमुख अतिथि साहित्यकार युवराज काफ्लेले सम्बोधन गर्दै मानव उत्थान सेवा समिति एवम् हाम्रो इलाज घरको संयुक्त तत्वावधानमा यस्ता कार्यक्रम सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा आफैलाई भाग्यमानी महसुस भएको बताएका छन्। कार्यक्रममा साहित्यकार मणिकुमार शर्मा, तारा शर्मा, दुर्गा साम्बा, मध्यमार्ग पत्रिकाका सम्पादक खेम सापकोटा, समाजसेवी रत्नमणि राई, गणेश छेत्री, नाटककार किरण ठकुरी आदि विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। मानव उत्थान सेवा समिति सालबारी शाखाका सचिव रेजिना गुरुङ डुक्पाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्बोधन र धन्यवाद ज्ञापन दार्जीलिङका काजी छेत्रीले राखेका थिए भने कार्यक्रमको औचित्यबारे अद्वैत थापाले बताएका थिए।समारोहमा हाम्रो इलाजघरका निर्देशक डाक्टर कुन्दन छेत्रीलाई उनले स्वास्थ्यको क्षेत्रमा मानिसहरूलाई पुर्‍याएको योगदाको मूल्याङ्कन गर्दै सम्मान जनाइएको थियो। सम्मान पत्र अर्पना प्रधानले पठन गरेका थिए। कार्यक्रममा लालाहाङ राई, प्रज्ञा छेत्री लगायत सुकना सालबारी शाखाका बालसभाका नानीहरूले सुमधुर भजनहरु पनि प्रस्तुत गरेका थिए।

About Author

Advertisement