बिर्तामोड: जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताए।
राससको ६४ औं वार्षिकोत्सवको अवसरमा झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा राससको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताए। उनले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको बताए।
राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनु पर्नेमा उनले जोड समेत दिए।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले रासस एक मात्र प्रभावकारी सञ्चारमाध्यम भएकाले यसले उत्पादन गर्ने समाचारमा विविधता रहेको बताए।
सामाजिक सञ्जालमा आउने भ्रामक समाचारहरुलाई राससले चिर्नुपर्नेमा जोड दिँदै उनले आधिकारिक वेभसाइटलाई अझ परिमार्जित गर्नुपर्ने, अनुसन्धानमूलक समाचारमा जोड दिनुपर्ने र साना मिडियाहरुलाई सहुलित दरमा सेवा दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले झापामा २०२५ सालदेखि राससले सेवा प्रवाह गर्दै आएको स्मरण गर्दै राससको समाचार विश्वसनीय भएको बताए। “म धेरैतिर धेरै किसिमको समाचार हेर्छु, साँचो हो कि झुटो हो, थाहा हुँदैन”, उनले भने, “तर, रासस त्यस्तो भ्रमलाई चिर्ने गरेको छ।”
महासंघका पूर्वअध्यक्ष मोहन काजीले राससका समाचार अझ जनमुखी हुनुपर्नेमा जोड दिए। मिडिया क्षेत्र संकटमा रहकाले राससले सहुलियत दरमा सदस्यता दिनुपर्ने धारणा राखे।
त्यस्तै, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय राससको बुलेटिनमा धेरै सुधार आएको बताए। “राजनीतिक रुपमा पनि अहिले सन्तुलित समाचार आउँछ, पहिला बायस हुन्थ्यो”, उनले भने, “रासस अझ परिस्कृत हुँदै जाओस् शुभकामना छ।”
प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियारले कोरोना महामारीपछि मिडिया बन्द हुने क्रम बढेकाले साना मिडियालाई राससले थप सहुलित दिनुपर्नेमा जोड दिए। प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले सबैले राससको समाचार प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै न्यूनतम् शुल्कमा सेवा दिन आग्रह गरिन्।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीले पछिल्लो समय राससको सेवा प्रवाह छिटोछरितो भएको बताए। सरकारी निकायमा भएका बेथितिका समाचारलाई समेत राससले प्राथमिकतामा राखेर प्रकाशन गर्नुपर्ने जनाउँदै उनले ‘थर्ड एंगल’बाट समेत समाचार आउनुपर्ने बताए।
अन्तरक्रियामा भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले नेपाली सञ्चार जगतमा राससको महत्व विशेष रहेको बताए। सामाजिक सञ्जालको भद्रगोलको भूमरीमा परेका पाठकलाई राससले त्यो भ्रमबाट निकाल्न मद्दत मिलेको उल्लेख गरे। उनले राससलाई अझ परिस्कृत बनाउनुपर्ने प्रष्ट पारेका थिए।
अग्रज पत्रकार देवेन्द्र किशोर ढुङगानाले आम नागरिकहरुको सरोकारका समाचारलाई बिना भेदभाव रास सले प्रशारण गर्ने कार्य सराहणीय रहैको बताए।
अन्तरक्रिया कार्यक्रममा पत्रकार लेखनाथ परदेशी, रेवती राज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओली लगायतले वार्षिकोत्सवको शुभकामा दिँदै सुझाव समेत राखेका थिए।
रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गरेकी थिइन्।









