खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा जारी रहेको छ। उक्त शाखा पसौं अभियान अन्तर्गत भागोप्रमोको सांगठनिक सभा तीनवटा बुथहरुमा सम्पन्न भएको छ। यस क्रममा पहिलो सांगठनिक सभा सिपाहीधुरामा समष्टिकाे सांगठनिक सचिव सीबी राईको अध्यक्षता र राजीव राईको सञ्चालनमा सम्पन्न भएको छ। त्यसरी नै दोस्रो सभा तीनधारे चियाबारी बुथमा सम्पन्न भएको छ जसको अध्यक्षता सनबहादुर तामाङले गरेका थिए भने सञ्चालन युवराज प्रधानले गरेका थिए। शाखा पसौं अभियानको तेस्रो सांगठनिक सभा सिविटार बुथमा सम्पन्न भएको थियो। उक्त सभाको अध्यक्षता मोहन सेवाले गरेका थिए। सभालाई पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ आदिले वक्तव्य राखेका थिए। तीनवटै सांगठनिक सभाहरुमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, समष्टिकाे प्रवक्ता बिपन विश्वकर्म, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा लगायत अन्यहरुले वक्तव्य राखेका थिए। उक्त सांगठनिक सभा अन्तर्गत सिपाहीधुरामा सभापतिको रुपमा पञ्चायत सदस्य उपेन्द्र राई र सचिव सबीर प्रधानलाई चयन गरिएको छ। दुवैको अगुवाईमा एक हप्ताभित्र भागोप्रमो सिपाहीधुरा शाखा कमिटी गठन गर्न निर्देश समष्टिकाे तर्फबाट दिइएको छ। त्यसरी नै सिविटारमा पनि पुरानो बुथ कमिटी विघटन गरेर आगामी एक हप्ताभित्रमा नयाँ बुथ कमिटी गठन गर्नलाई पञ्चायत सदस्य राजीव तामाङलाई संयोजक चयन गरिएको छ।

शाखा पसौं अभियान अन्तर्गत तीनवटै सांगठनिक सभाहरु सकेर पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभाहरु गत १८ जनवरीदेखि शुरु भएको थियो भने अब समाप्त हुन लागेको र अब केवल ४-५ वटा स्थानहरुमा सांगठनिक सभा हुन बाँकी रहेको बताएका छन्। उनले यस क्रममा समष्टिकाे विभिन्न स्थानहरुमा पार्टीको सांगठनिक सभा सम्पन्न भएको र शाखा पसौं अभियानको सांगठनिक सभा जारी रहने बताएका छन्।









