गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा रानीपुल नजिक सरमसा गार्डनमा आयोजित तीन दिवसीय सिक्किम ब्लू ड्युक फेस्टिभल २०२५ को समापन भयो। यो कार्यक्रम सिक्किम सरकारको पर्यटन विभाग, लोकसभा सांसद कार्यालय, पोजिट्युड, थ्री सिक्सटीफाईभ तथा प्रेस क्लब अफ सिक्किमको संयुक्त तत्वावधानमा एवं भेन्किजको प्रायोजनामा गरिएको थियो। समापन कार्यक्रममा विधायक सोनाम छिरिङ भेन्चोङपा, विधायक तथा सल्लाहकार एलबी दास, मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। समापन कार्यक्रममा चर्चित कलाकारहरू झुमा लिम्बू, अमित एण्ड गोर्खे, मेलो पिचर्स, वाङदेन शेर्पा र सुशन घिमिरेले रंगारंग प्रस्तुति दिएका थिए भने नृत्य एवं फेशन शो पनि कार्यक्रमको विशेष आकर्षण रहेको थियो। तीन दिवसीय यो महोत्सव आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई एआई, ड्रोन र रोबोटिक्स जस्ता उदीयमान टेक्नोलोजीहरूको मूल्यवान अनुभव प्रदान गर्नुका साथै पाक कला र उद्यमशीलता नेटवर्किंग अवसरहरू प्रदान गर्नु रहेको थियो। तीन दिवसीय कार्यक्रमको अवसरमा उपरोक्त विविध विषयमाथि विज्ञहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए। यस अवसरमा विभिन्न सम्पुर्ण म्युजिकल ब्याण्डका सदस्यहरूलाई आयोजक समारोह समितिको पक्षबाट अभिनन्दन जनाइयो।









