गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको पहलमा गत १४ फरवरीदेखि शुरू भएको ३३औं सिक्किम स्टेट भेटरेन्स अनि मास्टर ब्याडमिन्टन प्रतियोगिताको आज समापन भयो। समापन कार्यक्रममा विधायक कला राई मुख्य अतिथिका रुपमा उपस्थित रहेकी थिइन्। यस प्रतियोगितामा दुई सयभन्दा अधिक खेलाडीहरूले अंशग्रहण गरेका थिए। तीनवटा वर्गमा विभाजन गरिएको थियो। जसमा ६०-६५, ५५-६०, ५०-५५, ४५-५० र ४०-४५ उमेरका खेलाड़ीहरूले भाग लिएका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक राईले खेलकूद केवल युवावर्गको निम्ति मात्र नभएर ६० वर्षदेखि माथि उमेरकाहरूको निम्ति पनि हुँदो रहेछ भन्ने कुरा आज पाल्जोर स्टेडियमको जिम्नाजियम हलमा आयोजित प्रतियोगिताबाट महसुस गरेको बताइन्। आज खेल हेरिसकेपछि आफूलाई पनि प्रेरित गरेको र अबोप्रान्त घरमा ब्याडमिन्टन खेलको अभ्यास शुरू गर्ने र एक दिन यसै जिम्नाजियम हलमा खेल्न आउने अठोट गरिन्। उनले विशेष गरेर राज्यका युवाहरूमा बढदो नशालु पदार्थको लतबारे बोल्दै यस विषयमा सबैले उचित पहल गर्नुपर्ने र युवावर्गलाई राम्रो मार्गदर्शन दिनुपर्ने समयको माग रहेको बताइन्। विधायक राईले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमलाई खेलगाउँमा पनि एउटा ब्याडमिन्टन कोर्ट निर्माण गर्नको निम्ति मुख्यमन्त्री समक्ष आवेदन बुझाउनु पर्ने आग्रह गरिन्। खेलकूदसँगै युवाहरूलाई नशालु पदार्थ र आत्महत्याबारे पनि जागरूक गराउनु पर्ने समय आएको र यसमा सबै नागरिकहरूको भूमिका बराबर रहने जानकारी गरिन्। अन्तमा उनले यस प्रतियोगितामा सहभागिता जनाउने विजयी र उपविजयी सबै खेलाडीहरूलाई शुभकामना प्रदान गर्दै आगामी दिनमा गोवामा सम्पन्न हुने प्रतियोगिताको निम्ति सबैलाई अग्रिम बधाई साथै शुभकामना व्यक्त गरिन्।









