सोनादा: खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिद्वारा सोनादा पुलिस आउट पोष्टमा श्यामसन तामाङ विरुद्ध ज्ञापन पत्र चढाएका छन्। खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति र विभिन्न शाखा प्रशाखाहरुका प्रतिनिधिहरु उपस्थित भएर श्यामसन तामाङ विरुद्ध ज्ञापन पत्र चढाएका छन्। यस ज्ञापन पत्र चढाउने कार्यमा खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्री र मूल सचिव राजेन छेत्री लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। सोनादा पुलिस आउट पोष्टमा ज्ञापन पत्र चढाएपछि खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको मूल सचिव राजेन छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै विगत २ फरवरीमा श्यामसन तामाङले छेत्री बाहुनमाथि असभ्य तरिकाले अभद्र शब्दहरु प्रयोग गरेकोले हामी त्यसको विरोध गर्छौं भनी बताएका छन्। उनले श्यामसन तामाङले नेपाली/गोर्खा जातीय सदभावना बिगार्ने काम गरेको भन्दै यस्ता व्यक्तिलाई प्रशासनले कडा कार्बाही गर्नुपर्छ भनी मांग गरेका छन्। मूल सचिव राजेन छेत्रीले भने, भारतमा हामी गोर्खाहरु कम मात्रमा छौं अनि यसरी टुक्रा टुक्रामा टुक्रिनु हुँदैन, हामीले जातीय एकता र जातीय सदभावनालाई कायम राख्नुपर्छ।

जातीय एकता र जातीय एकतालाई बिगार्ने श्यामसन तामाङ जस्ता व्यक्तिलाई प्रशासनले कडा कार्बाही गर्नुपर्छ र जातगत गोष्ठीका पदाधिकारीहरुले पनि यस्ता जातीय विभेद ल्याउने श्यामसन तामाङ जस्ता व्यक्तिलाई प्रोत्साहन दिनु हुँदैन।’








