खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा सोरेंग फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा प्रवेश गऱ्यो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सोरेंग फूटबल क्लबले एसएसबी रानीडांगाविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुजु हांगमाले २ गोल गरिन्।

यसबाहेक मुस्कान सुब्बाले १ गोल गरिन्। यसरी एसएसबी रानीडांगाको तर्फबाट रञ्जीता देवी र सुमित्रा माराण्डीले गोल गरिन्। सुजु हांगमाले स्टार अव् द म्याच-को पुरस्कार जितिन्। अब मंगलवार (१८ फरवरी) खेलिने फाइनल म्याचमा गत सालको विजेता सोरेंग फूटबल क्लब र कनकाई स्पोर्टिंग क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








