शिक्षालाई प्राथमिकता दिने अनित थापाको सोचलाई कार्यमा परिणत दिनु शुरु गरिएको जीटीएको पहलको परिणाम यो पाठशाला हो: राजेस चौहान
सोनादा: जीटीएको डेपुटी चेयरम्यान साथै क्षेत्रीय सभासद राजेस चौहानले आज शिक्षा विभागका कार्यकारी निर्देशन एम मोदकको उपस्थितिमा अप्पर सिडर्स प्राथमिक पाठशालाको नव निर्मित भवनको उद्घाटन गरे।
उद्घाटन समयमा पाठशालालाई समाजको हातमा हस्तान्तरण गर्दै उनले भने, “जीटीए क्षेत्रमा शिक्षालाई प्राथमिकता दिएर कार्य गर्नुपर्छ भन्ने अध्यक्ष अनित थापाको सोचलाई कार्यमा परिणत गर्न शुरु गरिएको पूर्वाधार निर्माणको पहलको उपज हो आज शिलान्यास गरिएको पाठशाला भवन। आजदेखि यो पाठशाला सिडर्सवासीको सम्पति भएको छ।”
आफूहरुले दिएको वचन अवश्य पूरा गर्ने बताउँदै क्षेत्रको विकासको निम्ति अन्य धेरै योजनाहरुको पनि पहल शुरु भएको चौहानले बताए। किरण मोडदेखि शुरु हुने बाटो निर्माणको कार्य पनि चाँडै शुरु हुने बताएका छ्न्। सन् १९७८ मा स्थापित अप्पर सिडर्स प्राथमिक विद्यालयबाट शिक्षा आर्जन गरेर सैयौं विद्यार्थीहरूले आफनो जीवनको उत्तरार्ध टेकी सकेका छन्। तर पाठशालाले काँचुली फेर्नु सकेन। पाठशालाको छाना चुहुने, भित्ता भत्केको, भत्केको भित्तामा लेख्नु पर्ने, बर्खाको समय क्लास रूममा पानी चुहिने, पाठशाला भवनको निर्माण स्वर्गीय सुवास घिसिङको कार्यकालमा भएको थियो। भवन मरमत्तिका कैयौं आवेदन पत्रहरू डस्टबीनको धूलोमा पुरियो। तर पाठशाला भवन जीर्णोद्वार स्थितिमा नै रहिरह्यो। राजेस चौहानले जीटीए चुनाव समय आफ्नो चुनावी सभाहरूमा पाठशाला मरमत्ति गर्ने या नयाँ पाठशाला भवन नै निर्माण गर्ने वचन दिएका थिए। चौहानले चुनाव जीते पनि। उनी जीटीए सभाका डेपुटी चेयरम्यान बने। वर्तमान प्राथमिक शिक्षा विभागका सभासद पनि हुन्।
चुनाव जितेको केही महिना भित्रमा नै उनले पाठशाला भवन निर्माण माथि पहल शुरु गरे। मरमत्ति होइन नयाँ भवन नै निर्माण गर्ने सुझाव स्थानीय वासिन्दाले पनि दिए। नभन्दै ९ अगस्त २०२३ को दिन जीर्ण अवस्थामा रहेको एक मात्र सरकारी पाठशाला अप्पर सिडर्स प्रार्थमिक पाठशालाको नयाँ भवन निर्माणार्थ भूमि पूजनको साथ शिलान्यास गरियो। र यसै भवनको उदघाटन पनि आज गरियो। स्थानीय एक वासिन्दाले शिलान्यासको दिनको याद गर्दै भने, “जीटीए अध्यक्ष अनित थापाको निर्देशनमा क्षेत्रीय सभासद तथा डेपुटी चेयरम्यान राजेस चौहानको विशेष बाहुलीबाट, पञ्चायत समिति सदस्या बिभा गुरूङ अनि स्थानीय ग्राम पञ्चायत सदस्य प्रनिका छेत्रीद्वारा पूजापाठ गरेर यस कार्यको शिलान्यास गरी निर्माण कार्य शुरु भएको थियो।”
उनले निर्माण कार्यको इतिहास बताउँदै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रंगमूक सिडर्स मुण्डा समष्टि अध्यक्ष राजेस राई अनि सचिव बिनोद सुब्बा तथा सम्पूर्ण समष्टिका प्रतिनिधित्वको विशेष पहलमा जीटीए अध्यक्ष अनित थापाको समष्टि भ्रमण अवधि अति नै जीर्ण अवस्थामा रहेको अप्पर सिडर्स प्राथमिक पाठशालाको अवस्था देखेर तत्काल भवन निर्माण कार्यको पहल शुरु गर्ने आदेश जारी गरिदिनु भएको थियो।”

भारतीय सेनाबाट अवकास प्राप्त एक बुजुर्ग भन्छन्, “म यही पुरानो स्कूलमा पढेको हुँ। दस क्लास पढेपछि आर्मीमा गए। पन्ध्र वर्ष सेनामा काम गरे। अहिले मेरो नातिनी यही स्कूलमा पढ्छिन्। नयाँ भवनमा अब हाम्रो नानीहरू सुरक्षित पढ्नु सक्नेछन्।”








