गान्तोक: आज, राज्य कार्मिक विभागले राजधानीको चिन्तन भवनमा एक समन्वय सभा आयोजन गरे। उक्त सभामा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, मुख्य प्रशासक वीबी पाठक, मुख्य सचिव आर. तेलाङ, विभागीय प्रमुखहरू, जिल्लापालहरू, पुलिस अधीक्षकहरू आदि सहभागी थिए भनेे सभाकाे अध्यक्षता मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे।
आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले सबै विभागहरूलाई ‘टिम सिक्किम’ को ब्यानर अन्तर्गत समन्वयमा काम गर्न, सहकार्य र सामूहिक प्रयासलाई बढावा दिन आग्रह गरे। उनले कर्मचारी कल्याणप्रति प्रशासनको प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै राज्य सरकारले ल्याएको बाल हेरचाह बिदा पहलको बारेमा विस्तृत रूपमा व्याख्या गरे।
उनले सरकारी अधिकारीहरू र जनताबीच कुशल सञ्चारको आवश्यकतालाई जोड दिँदै सार्वजनिक सेवा सर्वोच्च प्राथमिकतामा रहनुपर्ने बताए। उनले अधिकारीहरूलाई सार्वजनिक गुनासोहरूलाई सक्रिय रूपमा सम्बोधन गर्न, प्रशासनिक प्रक्रियाहरूलाई सरल बनाउन र घरदैलोमा शासन लागू गर्न प्रोत्साहित गरे।
मुख्यमन्त्रीले राज्यमा प्रवेश गर्ने मानिसहरूको उचित रेकर्ड राख्नुको महत्त्वमाथि प्रकाश पारे। उनले बैठकमा उठाइएका प्रमुख चिन्ताहरूलाई सम्बोधन गरे भने विभागहरूले आवश्यक सुधार गर्नेछन् भन्ने आशा व्यक्त गरे।
यसैगरी, मुख्य प्रशासक पाठकले राज्य बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न राज्यको वित्त र राजस्व प्राप्तिमा जोड दिए। उनले केन्द्रिय बजेट २०२५-२६ माथि प्रकाश पार्दै राज्यमा यसको प्रभावबारे जानकारी गराए। उनले राज्यको वित्तीय योजनामा केन्द्रिय प्रायोजित योजनाहरू र केन्द्रिय क्षेत्र योजनाहरूको महत्त्वलाई जोड दिॅंदै सबै विभागहरूलाई राज्य सरकारको लागि उपलब्ध केन्द्रिय कोषको बारेमा जानकारी राख्न आग्रह गरे।
मुख्य सचिव तेलाङले बैठकको प्राथमिक उद्देश्यहरूमाथि प्रकाश पार्दै कुशल समय व्यवस्थापन, बिदा दर्ता कायम राख्न र भविष्यका प्रशासनिक प्रक्रियाहरूलाई बढाउन ई-अफिस प्रणालीको प्रभावकारी रूपमा प्रयोग गर्ने महत्त्वमा जोड दिए। उनले अन्तरविभागीय समन्वयमा सुधारको आवश्यकतामा जोड दिए।










