गान्तोक: रम्फूस्थित माइनिङ क्रिकेट खेल मैदानमा शुरू भएको विनोद प्रधान स्मारक क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। आजको फाइनल खेल योक्सम क्यापिटल बनाम अल्पाइन एससीबीच सम्पन्न भएको थियो। जसमा अल्पाइन एफसीद्वारा योक्सम क्यापिटल पराजित बन्यो। यस प्रतियोगितामा कूल आठवटा दलले सहभागिता जनाएको सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बाले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सुब्बाले संस्थाले राज्यका युवावर्गलाई क्रिकेट खेलप्रति जागरूग साथै रूची बढाउनको निम्ति विभिन्न प्रकारको प्रतियोगिता आयोजना गर्दै आइरहेको अवगत गराए। माइनिङमा क्रिकेट खेल मैदान तयारी भएपछि राज्यका युवाहरूले मञ्च पाएको र क्रिकेट प्रति उनीहरूको रूची बढेर गएको उनको भनाइ रहेको छ। उनले थप जानकारी गराए अनुसार संस्थाले राज्यको विभिन्न स्थानमा क्रिकेट खेल मैदान बनाउने योजना तयार गरिरहेको र अबको केही वर्षपछि राज्यमा धेरै क्रिकेट खेल मैदानहरूको निर्माण हुने आशा व्यक्त गरे। हाल सिक्किमले देशको विभिन्न स्थानमा आयोजित क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको र हालै राजस्थानमा सम्पन्न भएको विजय हजारै प्रतियोगितामा राजस्थान जस्तो उत्कृष्ट टोलीलाई सिक्किमले पराजित गरेको जानकारी गराउँदै उक्त टोलीमा राष्ट्रीय टोलीका तीन जना खेलाडीहरू पनि सामेल रहेको थिए। हाल माइनिङ क्रिकेट खेल मैदानमा स्विमिङ पुल, जिम र फल्ड लाइट जडान गर्ने कार्य युद्धस्तरमा सम्पन्न भइरहेको बताए। उनको भनाइ अनुसार यस वर्षको क्यालेन्डर अनुरूप महिला क्रिकेट सिनियर वुमेन्स क्रिकेट प्रतियोगिता,ए डिभीजन, बी डिभीजन र सी डिभीजनका महिलाहरूको पनि प्रतियोगिता आयोजना गरिने अवगत गराए। गत सेप्टेम्बरदेखि अहिलेसम्म ६ वटा प्रतियोगिता निरन्तर आयोजना गरेको र भविष्यमा पनि यस प्रकारको प्रतियोगिताहरू निरन्तर आयोजना गरिने जानकारी गराए। सोही प्रकारले संस्थाका सचिव रिञ्जिङ नामग्याल भोटियाले बताएअनुसार संस्थाले राज्यका युवाहरूलाई क्रिकेट खेलप्रति रूची बढाउनको निम्ति विभिन्न प्रकारको प्रतियोगिताहरू आयोजना गरिरहेको जानकारी गराए। उनको भनाइ अनुसार गेजिङ क्रिकेट टोली प्रथम पल्ट फाइनलमा पुग्न सफल बनेको छ। अहिले राज्यका खेलाडीहरूले क्रिकेट खेल सम्वन्धि धेरै अनुभव हासिल गरिरहेको हुनाले देशको विभिन्न राज्यमा आयोजित प्रतियोगिताहरूमा उत्कृष्ठ प्रदर्शन गर्न सफल बनेको बताए। यसरी संस्थाले राज्यमा क्रिकेटको क्रेज बढाउनको निम्ति सक्दो प्रयास गर्दै आइरहेको र यसको परिणाम पनि राम्रो आइरहेको बताए। यस प्रतियोगितामा म्यान अफ् द टुर्नामेन्ट साथै अधिक रन बनाउने निलेश लामिछानेलाई घोषित गरियो भने योक्सम क्यापिटलका सचित राईलाई उत्कृष्ट बलर घोषित गरियो। प्रतियोगितामा विजयी हुने दललाई नगद एक लाख र उपविजयी दललाई नगद पचास हजार सहित ट्रफी र पदक प्रदान गरियो भने आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पाकिम जिल्लाकी जिल्ला उपाध्यक्ष प्रभा प्रधान रहेकी थिइन्।









