सामसोङ तामाङलाई तत्काल पक्राउ गरिनुपर्ने क्याप, महिला परिषदको माग

IMG-20250215-WA0179

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को महिला परिषदले खस समुदायमाथि अभद्र टिप्पणी गरेर साम्प्रदायिक सद्भावना बिथोल्न खोज्ने सामसोङ तामाङ नाम गरेका व्यक्तिलाई तत्काल पक्राउ गरेर आवश्यक कानुनी कार्यवाही गरिनुपर्ने माग गरेको छ। आज पूर्व सिक्किमको रम्फूस्थित पार्टीको क्षेत्रीय कार्यालयमा बसेको सिटिजन एक्शन पार्टी, महिला परिषदको बैठकमा यस विषयमाथि चर्चा भएको थियो। सामसोङ तामाङले सामाजिक सञ्जालमा विवादास्पद भिडियो हालेपछि उनी विरुद्ध प्राथमिकी दर्ता भएको यतिका दिन बितेर जाँदा पनि सिक्किम पुलिसले पक्राउ गर्न नसकेकोमा बैठकले आश्चर्यता व्यक्त गरेको छ। सामसोङ तामाङले विजारोपन गरेको विचारलाई समयमा निर्मुल पार्न नसकिए भोलिको दिनमा सिक्किम दोस्रो मणिपुर बन्नसक्छ भन्दै यस विषयमा राज्य सरकार र सिक्किम पुलिसले गम्भीरतासित पहल गर्नुपर्ने बैठकमा प्रस्ताव पारित गरिएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।
आजको बैठकमा अन्य केही महत्वपूर्ण र गम्भीर विषयमा पनि चर्चा पछि प्रस्तावहरू पारित गरिएको जसमा आगामी मार्च महिनाको अन्तसम्ममा सिटिजन एक्शन पार्टी, महिला परिषदको केन्द्रीय अनि क्षेत्रस्तरीय समितिहरू गठन गरिने प्रमुख रहेको छ। यसरी नै राज्य सरकारको केही सरकारी विद्यालयहरू बन्द गर्ने निर्णयलाई आजको बैठकले प्रतिवाद जनाएको छ। यसको साथै क्याप, सिक्किमको महिला परिषदले सरकारलाई उक्त निर्णय फिर्ता लिने माग पनि गरेको छ। एसकेएम सरकारले सरकारी विद्यालयहरू बन्द गरेर निजी विद्यालयलाई प्राथमिकता दिइरहेको महिला परिषदको भनाइ रहेको छ।
केही दिन अघि राजधानीस्थित एसटीएनएम अस्पतालमा एक महिलाको संदिग्ध अवस्थामा भएको मृत्युको घट्नालाई लिएर पनि सिटिजन एक्शन पार्टी, सिक्किमको महिला परिषदले गहिरो दुःख व्यक्त गर्दै सरकारको सम्बन्धित निकाय यसको जवाफदेयी हुनपर्ने बताएको छ। सरकारले स्वास्थ्य विभागको सट्टा पार्टीको प्रकोष्ठलाई अधिक महत्व दिने गरेकोले आज राज्यमा बिरामीहरूले आफ्नो ज्यान गुमाउनु परिरहेको पार्टीको भनाइ रहेको छ। यस घट्ना सम्बन्धमा निस्पक्ष जाँच गरेर पीड़ित परिवारलाई न्याय दिनुपर्ने सिटिजन एक्शन पार्टी, महिला परिषदको माग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement