बहुउद्देश्य सहकारी संस्था लिमिटेडको नयाँ समिति गठन

IMG-20250215-WA0178

गान्तोक: पाकिम बहुउद्देश्य सहकारी संस्था लिमिटेडको वार्षिक सभा पाकिम जिल्लाको याक्तेन ग्राम पञ्चायत हलमा सम्पन्न भयो। यस अवसरमा सहकारी समितिका सदस्यहरू लगायत अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा वित्तीय लेखा परीक्षण प्रतिवेदन, सञ्चालन समीक्षा, भविष्य योजनाबारे छलफलसंगै नयाँ बोर्ड सदस्यहरूको निर्वाचन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका उप रेजिस्टार बिमल राईले बैठकको मुख्य बुँदाहरूबारे जानकारी गराए। उनले जानकारी गराएअनुसार संयुक्त राष्ट्र संघको महासभाले सहकारीले राम्रो संसार निर्माण गर्छ भन्ने विषयअन्तर्गत २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा घोषणा गरेको छ। यसका साथै, उनले सहकारी मन्त्रालयको स्थापना पछि शुरु गरिएका विभिन्न योजनाहरूमाथि प्रकाश पारे। जसमा कृषि ऋण, जेनेरिक औषधिहरूमा सुविधाको लागि पीएम जनऔषधि केन्द्र, ई-सेवाहरूको लागि साझा सेवा केन्द्र र किसानहरूको लागि मल र सम्बन्धित सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न प्रधानमन्त्री किसान समृद्धि केन्द्र समावेश गरेको बताए। उनले पाकिममा सञ्चालित एमपीसीएस अन्तर्गत जनऔषधि केन्द्र, समृद्धि केन्द्र र सीएससी को स्थापना प्रगतिमा रहेको र यसका फाइदाहरूमाथि प्रकाश पारे। उनले सदस्यहरूलाई समाजबाट सामानहरू किनेर सहकारीलाई सहयोग गर्ने आग्रह गरे। नयाँ बोर्ड गठनको लागि चुनाव मापदण्डअनुसार गरिएको थियो। जसमा पाँच सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। जसमा अध्यक्षको पदमा निमा ओङचुक भोटिया, उपाध्यक्ष हरि रिजा, सदस्य डोमा लेप्चा, इन्दिरा सुब्बा, याङ्की लमू लामा आदि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement