गान्तोक: पाकिम जिल्लाअन्तर्गत सिक्किम सहकारी यूनियनको प्रेक्षागृहमा आयोजित तीन दिवसीय क्षमता विकास कार्यक्रमको समापन भयो। गत ८ फरवरीदेखि शुरू भएको तीन दिवसीय क्षमता विकास कार्यक्रमको समापन अवसरमा विभिन्न विषयमाथि जानकारी दिइएको थियो। नेश्नल कोअपरेटिभ डेयरी फेडरेशन अफ् इन्डियाको पहलमा आयोजित कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो। उदघाटन कार्यक्रममा सिकोनका अध्यक्ष मंगलजीत राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। साथमा उपाध्यक्ष पूर्ण प्रसाद शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस तीन दिवसीय क्षमता विकास कार्यक्रममा राज्यका विभिन्न क्षेत्रमा सञ्चालित डेयरीका कूल ५७ जनाले सहभागिता जनाएको उल्लेख गरिएकोछ। उक्त कार्यक्रममा स्रोतवक्ताकोरूपमा डा. सतिश रसाईलीले मानसिक स्वास्थ्य र नशालु पदार्थको लतमा डुबेका युवाहरूलाईलाई परामर्श दिए। सिम्फेडका प्रबन्धक निर्देशकले राज्यमा दिगो कृषि बजार अभ्यास र सहकारी संस्थाहरूको भूमिकाबारे अवगत गराए। यसरी नै डा. छेवाङ ग्याछो भोटियाले सहकारी निर्माणमा आध्यात्मिकताको भूमिकाबारेमा जानकारी गराए भने सिक्किम मिल्क यूनियनका प्रबन्धक निर्देशक डा. टीबी घतानीद्वारा जैविक दुग्ध खेतीमा जोड दिँदै सिक्किममा जैविक खेतीमा चुनौती र अवसरहरूमाथि मन्तव्य प्रकट गरे। यसरी नै मुद्रण र स्टेशनरी विभागका सचिव डा. एबी कार्कीद्वारा सिक्किमको संस्कृति र इतिहासबारे बुझ्न नाथुला सीमाको अवलोकन भ्रमणको लागि पनि लगिएको जानकारी गराए।