नयाँ दिल्ली: आईसीसी च्याम्पियन्स ट्रफीको निम्ति भारतीय क्रिकेटरहरूले आफ्ना आत्मीय परिजनहरूलाई आफूसँग यात्रामा लैजान सक्नेछैनन् कारण भारतीय क्रिकेट कण्ट्रोल बोर्डको नयाँ यात्रा नियम पहिलोपल्ट यस वैश्विक टुर्नामेण्टमा लागू भइरहेको छ। च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सबै म्याच दुबईमा खेल्नेछ अनि पहिलो म्याच २० फरवरीमा बंग्लादेशविरुद्ध रहेको छ। त्यसपछि भारतले २३ फरवरीमा चीरप्रतिद्वन्द्वी पाकिस्तान र २ मार्चमा न्यूजील्याण्डको चुनौती स्वीकार्नेछ। भारतले आफ्नो सबै म्याच दुबईमा खेले पनि मूल रूपले टुर्नामेण्टको आयोजन १९ फरवरीदेखि पाकिस्तानमा हुनेछ। च्याम्पियन्स ट्रफीको फाइनल ९ मार्चमा हुनेछ। यात्रा ३ हप्ताभन्दा कम्ती समयको हुने हुनाले बीसीसीआईले खेलाड़ीहरूलाई परिवारलाई साथमा लैजाने अनुमति दिनेछैन। नयाँ नीतिअन्तर्गत ४५ दिन या त्यसभन्दा अधिक समयको लामो यात्रामा मात्र परिवार खेलाड़ीहरूसँग अधिकतम दुई हप्ताको निम्ति जान सक्छन्। बोर्डर-गावस्कर ट्रफी (बीजीटी) -मा भारतले १-३-ले हारपछि बीसीसीआई ले नयाँ यात्रा नीति बनाएको छ। भारतले च्याम्पियन्स ट्रफीको निम्ति कप्तान रोहित शर्माको अगुवाईमा अगावै १५ सदस्यीय टीमको घोषणा गरिसकेको छ।