कालचिनी: सोमबार शिक्षक दिवसको उपलक्ष्यमा अलिपुरद्वारका स्वेच्छासेवी संस्था प्रियदर्शनाको आयोजनामा चियाबारी अस्पताल परिसरमा विशेष कार्यक्रमबीच राईमाटाङ चियाबारीको कराँटे प्रशिक्षक तथा आदिवासी समाजसेवी डा. कमल कुजूरलगायत आईसीडीएस शिक्षिका अनिता मिञ्ज कुजूर, स्काउट्स शिक्षक घनस्याम उराँव र मञ्जु इन्दुवार बारलालाई विशेष सम्मान जनाइयो। प्रियदर्शना संस्थाका सचिव अलिपुरद्वार कलेजका शिक्षक बिजन सरकार र उनका टीमले प्रसस्ति पत्रलगायत स्मृति चिन्ह प्रदान गर्दै शिक्षक दिवस पालन गर्यो।

यसै क्रममा राईमाटाङ चियाबारीको प्रायः ६० जना स्कूलका विद्यार्थीहरुलाई पनि स्मृति चिन्ह र मेडल प्रदान गर्दै शिक्षाप्रति उत्साह प्रदान गरिएको थियो। कार्यक्रमबारे प्रियदर्शनाको सचिव तथा कलेज शिक्षक बिजन सरकारले आदिवासी बाहुल क्षेत्रमा धेरै स्वयंसेवक शिक्षक शिक्षिकाहरु निस्वार्थ समाजको निम्ति काम गर्दै आइरहेको छ, तर उनीहरुलाई बाहिर कसैले चिन्दैनन् साथै सम्मान दिँदैनन् यसैले आज आफूले यो संस्थाको ब्यानरमा राईमाटाङ चियाबारीमा आएर चारजना आदिवासी शिक्षक शिक्षिकाहरु र आदिवासी मेधावी विद्यार्थीहरुलाई यो सम्मान प्रदान गरेर उनीहरुको आत्मबल बढ़ाउने काम गरिएको जनाएका छन्।
राईमाटाङमा आएर सरकारी स्कूलका विद्यार्थीहरुलाई हेर्दा साँच्चै नै आज राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले निःशुल्क स्कूल ड्रेस र शिक्षा पाईरहेको थाह लागेको र आदिवासीबीच अझै आगामी दिनमा कामहरु गर्ने इच्छा रहेको बिजन सरकारले जनाएका छन्। उक्त कार्यक्रम सम्बन्धमा डा.कमल कुजूर र समाजसेवी हरि कुजूरले पेशाले कलेज शिक्षक तथा समाजसेवी बिजन सरकारसितको सम्बन्ध धेरै अघिदेखिको रहेको र तिनले आज शिक्षक दिवसको उपलक्ष्यमा राईमाटाङ चियाबारीमा आएर यो सम्मान कार्यक्रम गर्ने इच्छा जाहेर गरेकोले नै कार्यक्रम सफल भएको र आदिवासी समाजलाई माया गर्ने सह्रदयी बिजन सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।









