अहमदाबाद: भारतीय टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले ओपनिंग ब्याटर यशस्वी जयसवालको स्थानमा स्पिनर वरुण चक्रवर्तीलाई च्याम्पियन्स ट्रफीको टीममा सामेल गरिएको विषयमा आफ्नो स्पष्टीकरण दिएका छन्। भारतले आईसीसी च्याम्पियन्स ट्रफीको निम्ति चयन गरिएको १५ सदस्यीय टीममा हालै २ वटा बद्लाउ गरेको थियो। चोटग्रस्त जसप्रीत बुमराहको स्थानमा पेस बलर हर्षित राणा अनि यशस्वीको स्थानमा वरुणलाई टीममा सामेल गरिएको थियो। वरुणलाई टीममा सामेल गरिँदा केही क्रिकेट विशेषज्ञहरूको साथमा प्रशंसकहरूले आश्चर्य व्यक्त गरेका थिए। वरुण टीममा सामेल पाँचौं स्पिनर हुन्। टीममा पहिलादेखि नै रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव र वाशिंगटन सुन्दर रहेका छन्। यसबीच गम्भीरको भनाइअनुसार, वरुणले बीचका ओभरहरूमा विकेट लिन सक्ने हुनाले उनलाई टीममा स्थान दिइएको छ। ईंग्ल्याण्डविरुद्ध वनडे सीरीज जितेपछि गम्भीरले भने, हामीलाई बीचका ओभरहरूमा विकेट लिन सक्ने एकजना स्पिनरको आवश्यकता थियो। यसैकारण हामीले वरुणलाई टीममा सामेल गऱ्यौं। उनको चयनपछि यही मुख्य कारण हो। वरुणमा के गर्न सक्ने क्षमता छ भन्ने हामीलाई थाहा छ। उनी धेरैवटा टीमहरूको निम्ति खतरा साबित हुनसक्छन्। उनी एक्स फ्याक्टर साबित हुनसक्छन्।
वरुणलाई बीचका ओभरहरूमा विकेट हासिल गर्ने बलर बताए पनि गम्भीरले उनले अन्तिम एकादशमा स्थान बनाउने दावी चाहिँ गरेनन्। उनले भने, हामी वरुणको साथ शुरुवात गर्नेछौं भन्ने चाहिँ म दावी गर्न सक्दिनँ तर हामी एउटा मजबूत बलिंग लाइनअपको साथ ओर्लिन चाहन्छौं। बीचका ओभरहरूका विकेट लिन सके टीमलाई धेरै फाइदा हुने हामीलाई थाहा छ। यसबाहेक यशस्वीको भविष्य धेरै उज्ज्वल रहेको हामी जान्दछौं। उल्लेखनीय छ, यशस्वीले नागपुरमा ईंग्ल्याण्डविरुद्ध सीरीजको पहिलो म्याचमा वनडे प्रारूपमा पदार्पण गर्ने मौका पाएका थिए। त्यस म्याचमा उनले २२ बलमा १५ रन बनाएका थिए। त्यसपछि दोस्रो वनडे म्याचदेखि विराट कोहली टीममा फर्किँदा यशस्वी बाहिर भएका थिए। यसरी वरुणले सीरीजमा केवल एउटा म्याच खेलेर ५४ रन खर्च गरी १ विकेट लिएका थिए।