गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरण र राष्ट्रीय आपदा रेस्पोन्स फोर्सको संयुक्त पहलमा आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा भूकम्पबारे मोकड्रील आयोजनालाई लिएर एक कार्यक्रम सम्पन्न भय़ो। उक्त कार्यक्रमको अध्यक्षता जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष तथा जिल्लापाल धिराज सुवेदीले गरेका थिए भने कार्यक्रममा अतिरिक्त जिल्लापाल गायस पेघा, महकुमा अधिकारी प्रेमकुमार सुब्बा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल धिराज सुबेदीले मोकड्रिल अभ्यासमा सामेल हुन प्रोत्साहित गरे। त्यसपछि उनले स्कूलका बालबालिकाकाहरूले सिकेर जागरुकता गराउन सक्ने बताए। उनले मोकड्रिल अभ्यासमा संलग्न सबैलाई एनडीआरएफ टोलीको विशेषज्ञताबाट ज्ञान लिने सल्लाह पनि दिए। सोही क्रममा डेपुटी कमान्डेन्ट विवेक कुमारले आगामी दिनमा आइपर्ने भूकम्पको खतराबाट बच्न मोकड्रिल अभ्यासबाट जानकारी लिनुपर्ने उल्लेख गर्दै यसमा एनडीआरएफको भूमिका र जिम्मेवारीहरूमाथि जानकारी गराए।