विराटनगर: कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन्। सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो। उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी थिए।
उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ।
सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलाशले बुधबार दोषी ठहर गरेको हो। विशेष अदालतबाट उनीहरुले सफाइ पाएकोमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपि सबैलाई दोषि ठहर गरेको हो।