अब हुने बैठक ओपन हुनु पर्ने लाभार्थीहरुको मांग
खरसाङ: खरसाङ नगरपालिकामा हाउजिङ फर अल योजनाको लाभार्थीहरु बुधबार खरसाङ नगरपालिकामा कुन आधारमा पैसा पसेको भन्ने विषयमा सोधपुछ गर्नलाई गएको जानकारी प्राप्त भएको छ। यसै विषयलाई लिएर खरसाङ नगरपालिकाको हाउजिङ फर अल योजनाको लाभार्थीहरुले खरसाङमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्। लाभार्थीहरुले पत्रकार सम्मेलन गरेर लाभार्थीहरुमध्ये १०५ जनालाई ५० हजार गरेर पैसा पसेकोले यो कुन आधारमा र कस कसको पैसा पसेको भनेर सोधपुछ गर्न नगरपालिका पुगेर खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र गोबिन्द अधिकारीसित भेटेर कुराकानी गरेको जानकारी गराएका छन्। लाभार्थीहरुले बताए अनुसार लाभार्थीहरुको मांग छ कि हाल्छ भने सबैको एकैचोटि हालोस् नत्र कसैलाई पनि नहालोस्। यसरी कसैको पस्दा र कसैको नपस्दा एक आपसमा मनमुटाव हुने भएकोले सबैको एकसाथ पसेको राम्रो भनेर बताएका छन्। लाभार्थीहरुले पैसा पसेका १०५ जनाको लिस्ट मांग्दा दिनु नसकेको पनि लाभार्थीहरुले बताएका छन्। गत १० फरवरीमा अनशन बसेर राती कुन आधारमा १०५ जनाको मात्र पैसा पस्यो भनी प्रश्न पनि गरेका छन्। यसको साथै लाभार्थीहरुले आगामी २३ फरवरीमा लाभार्थीहरु, गोर्खा युउथ् एक्टिभिष्ट नेटवर्क र नगरपालिकामाझ हुने भनिएको सभा भित्र कोठामा होइन तर ओपन रुपमा खुल्ला हुनु पर्ने मांग गरेका छन्। लाभार्थीहरुले हाउजिङ फर अल योजनाको एकजनाको जम्मा ४ लाख १ हजार रहेको तर ८५ हजार पहिला पसेको त त्यसमा पनि २५ हजार त जमा गर्नु परेकोले ६० हजारमा घर निर्माण हुन नसक्ने भएको बताएका छन्। अहिले आएर ५० हजार गरेर १०५ जनाको पसेको छ तर कुन आधारमा पैसा पसेको र कस कसको पैसा पसेको केही याद नभएको बताएका छन्।
यसको साथै पत्रकार सम्मेलनमा गोर्खा युउथ् एक्टिभिष्ट नेटवर्कको सदस्य एंव खरसाङ नगरपालिकाको वार्ड नम्बर ४ निवासी रामकृष्ण शर्माले हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर काम गरिरहेको र अन्य नगरपालिकाबाहेक खरसाङमा मात्र किन लापरवाही भनी प्रश्न गरेका छन्। उनले खरसाङ नगरपालिकामा मात्र किन कानुन अनुरुप हाउजिङ फर अल योजनाको कार्य नभएको बताउँदै लाभार्थीहरुलाई लिएर महकुमा शासक समक्ष गएको, सम्बन्धित सबै निकायहरुमा पत्राचार गरेको साथै यस योजनाको रकम विषयमा बुझ्नलाई कोलकाता र दिल्ली पनि गएको बताउँदै गत १० फरवरीमा अनशन पनि बसेको बताएका छन्। उनले यसै कुरालाई लिएर सरकारी बैठक सम्पन्न भएको थियो र सर्वे पनि भयो तर सबै आधाकल्चो भनी आरोप लगाएका छन्। शर्माले हालमा माध्यमिक परीक्षा भईरहेकोले १४४ धारा लागु गरिएकोले महकुमा शासकले आगामी २३ फरवरी खरसाङ नगरपालिकासित सभा गरिदिने आश्वासनको साथमा अनशन उठेको तर अनशन उठेको रात नै पैसा पसेको सुन्नमा आएको तर कुन आधारमा पैसा पसेको हो हामी पारदर्शिता चाहान्छौं भनी मांग गरेका छन्। उनले १०५ जनाको पैसा कुन आधारमा पसेको र अन्यको किन नपसेको कि सर्वेको अनुसार पसेको हो कि स्पष्ट उत्तरको मांग गरेका छन्। उनले अब आगामी २३ फरवरीमा हुने भएको सभामा हाउजिङ फर अल योजनाको पारदर्शिता देखाएको होस् भनी मांग गरेका छन्।

यसै कुरालाई लिएर लाभार्थीहरु बुधबार खरसाङ नगरपालिका कार्यालयमा सोधपुछको लागि गएको जानकारी गराएका छन्। रामकृष्ण शर्माले नगरपालिका जनताको हो त जनतालाई गएर सोधपुछ गर्न पाउँछन् भन्दै हामी पारदर्शिता चाहान्छौं भनी बताएका छन्। उनले महकुमा शासकले आगामी २३ फरवरीमा लाभार्थीहरु, गोर्खा युउथ् एक्टिभिष्ट नेटवर्क र नगरपालिकामाझ सभा गराईदिने वचन दिएका छन् र उक्त दिनको सभा खुल्ला रुपमा होस् अनि हामी पारदर्शिता चाहान्छौं भनी बताएका छन्।