खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा एसएसबी रानीडांगाले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा बुधवार खेलिएको म्याचमा एसएसबी रानीडांगाले जीएसएफए कलकत्ताविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट संगीता ब्लासगोर र अञ्जुले १-१ गोल गरिन्। यसरी जीएसएफए कलकत्ताको तर्फबाट मरियम खातुनले १ गोल गरिन्। विजेता टीमकी खेलाड़ी संगीता ब्लासगोरले स्टार अव् द म्याच को पुरस्कार जितिन्। बिहीवार खेलिने पहिलो क्वार्टर फाइनल कनकाई स्पोर्टिंग क्लब (नेपाल) र जीटीए इलेवेनबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।