दार्जीलिङ-डुवर्सलाई जोड्ने नयाँ पुलको योजना अन्तिम चरणमा, निर्माण लागत ११९०.४० करोड रुपियाँ

WhatsApp-Image-2025-02-12-at-17.55.46

कोलकाता: पश्चिम बङ्गालको टिस्टा नदीमाथि एनएच-१७ मा दार्जीलिङ पहाड  र डुवर्स क्षेत्रलाई जोड्ने नयाँ पुलको योजना अन्तिम चरणमा पुगेको छ। यो पुल कोरोनेशन ब्रिजको वैकल्पिक रूपमा निर्माण गर्न लागिएको हो, जुन वर्षौंदेखि मुख्य यातायात मार्गको रूपमा रहेको छ। केन्द्र सरकारले यस परियोजनालाई यथाशीघ्र स्वीकृति दिने तयारी गरिरहेको छ। पश्चिम बङ्गाल भाजपाले यस विषयमा बुधवार एक दस्तावेज जारी गरेको थियो, जसमा लोकसभामा उठाइएको प्रश्नको जवाफ दिँदै केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भइसकेको जानकारी दिएका छन्। डीपीआर स्वीकृत भएपछि सरकारको अनुमोदन लिएर निर्माण कार्य प्रारम्भ गरिनेछ। मन्त्री गडकरीका अनुसार, नयाँ पुलको अनुमानित लागत ११९०.४० करोड़ रुपियाँ निर्धारण गरिएको छ, र यसको निर्माण कार्य ३६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्य शुरु गर्न आवश्यक सरकारी अनुमोदन प्राप्त गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

दार्जीलिङ र डुवर्स क्षेत्र पर्यटकीय स्थलका साथै चिया उद्योगको लागि प्रसिद्ध मानिन्छ। नयाँ पुल निर्माण भएपछि यातायात थप सहज हुनेछ, जसले पर्यटक आगमनमा वृद्धि ल्याउनेछ अनि स्थानीय व्यवसायीहरूलाई आर्थिक रूपमा फाइदा पुग्नेछ। साथै, यो पुल सामरिक रूपमा पनि महत्त्वपूर्ण हुने भएकाले भारतीय सेनाको आवागमनलाई थप सुविधाजनक बनाउने अपेक्षा गरिएको छ। बङ्गाल भाजपाका अनुसार, कोरोनेशन ब्रिजको वैकल्पिक पुल निर्माण केन्द्र सरकारको प्राथमिकतामा पर्न गएको छ। यस परियोजनालाई छिटोभन्दा छिटो स्वीकृति दिलाई निर्माण कार्य अघि बढाउने प्रयास भइरहेको छ। उत्तर बङ्गाल  तथा पूर्वोत्तर भारतबीचको कनेक्टिभिटी सुदृढ पार्ने उद्देश्यले निर्माण हुन लागेको यो पुल क्षेत्रीय विकासका लागि एक महत्वपूर्ण परियोजना हुने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement