-
एमईए-आई पाठ्यक्रममा २७ राष्ट्रका ४४ विदेशी प्रतिनिधि सहभागी
नयाँ दिल्ली: क्षमता निर्माण बढाउने उद्देश्यका साथ, अन्तर्राष्ट्रिय ठूलो बिरालो गठबन्धनले (आईबीसीए) काजीरङ्गा राष्ट्रिय निकुञ्ज एवं बाघ अभयारण्यसँगको संयुक्त तत्वावधानमा फरवरी १० १० देखि १६ सम्म काजीरङ्गामा वन्यप्राणी एवं संरक्षण विशेषज्ञहरूका लागि क्षमता निर्माणमाथि आईटीईसी-कार्यकारी पाठ्यक्रम आयोजन गरिरहेको छ। भारतको राष्ट्रिय निकुञ्जमा प्रथमपटक भारतीय प्राविधिक एवं आर्थिक सहयोग (आईटीईसी) पाठ्यक्रम आयोजन भइरहेको छ।
यस पहल अन्तर्गत २७ वटा देशका ४४ अधिकारीले पनि भाग लिइरहेका छन्, जसले वन्यप्राणी संरक्षण तथा वहनीय विकासका लागि साझा वैश्विक प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ। पाठ्यक्रममा वन्यप्राणी तथा प्राकृतिक धरोहर प्रबन्धनका लागि महत्त्वपूर्ण विविध विषय समेट्नका साथै ठूलो बिरालोको संरक्षणमा भारतको उपलब्धिको प्रस्तुति, प्राकृतिक धरोहर संरक्षणको सन्दर्भमा प्रबन्धन प्रभाविता, प्रविधि आधारित संरक्षण, ध्वजवाहक प्रजातिका रूपमा गैंडा, समुदायको संलग्नता आदि पनि सामेल रहनेछन्।

काजीरङ्गामा उद्घाटन समारोहको अध्यक्षता आसम सरकारका पर्यावरण एवं वन, एक्ट ईस्ट नीति तथा संसदीय मामिला मन्त्री चन्द्रमोहन पटोवारीले गरेका थिए। यस अवसरमा कृषि, आबकारी, सीमा सुरक्षा एवं विकास तथा बागवानी मन्त्री अतुल बोरा, आसम सरकारका प्रधान मुख्य वन संरक्षक तथा वन्य बलका प्रमुख सन्दीप कुमार, प्रधान मुख्य वन संरक्षक तथा मुख्य वन्यप्राणी संरक्षक डा विनय गुप्ता, काजीरङ्गा राष्ट्रिय निकुञ्ज तथा बाघ अभयारण्यका स्थल निर्देशक डा सोनाली घोष, आइबीसीएका अन्तरिम निर्देशक डा सत्यप्रकाश यादव पनि उपस्थित थिए।

आईटीईसीबारे
विदेश मन्त्रालयको शासनका अधीन रहेको आईटीईसी कार्यक्रम ज्ञान, विशेषज्ञता अनि सर्वोत्तम कार्यप्रणाली साझा गर्दै विकासशील राष्ट्रहरूबीच परस्पर सहयोगलाई बढावा दिन लक्षित छ। आईटीईसी पाठ्यक्रमको प्राथमिक उद्देश्य विभिन्न क्षेत्रमा प्रशिक्षण एवं क्षमता निर्माण प्रदान गर्दै साझेदार राष्ट्रको सामाजिक-आर्थिक विकासमा योगदान दिनु रहेको छ। यसका अतिरिक्त, सांस्कृतिक विनिमय प्रोत्साहित गर्नका साथमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउँदै वहनीय विकास अनि वैश्विक सहयोगको मार्ग प्रशस्त गर्नु पनि रहेको छ।
काजीरङ्गा राष्ट्रिय निकुञ्ज एवं बाघ अभयारण्यबारे
युनेस्को धरोहर स्थलमा दर्ता काजीरङ्गा राष्ट्रिय निकुञ्ज एवं बाघ अभयारण्य साँचो अर्थमा जैवविविधताको मणि हो। यो सबैभन्दा धेरै सङ्ख्यामा एक-सिङ्गे गैंडाको घर हो, जसले यसलाई वन्यप्राणी संरक्षणका लागि महत्त्वपूर्ण स्थल बनाउँदछ। बाघ, हात्ती लगायत असङ्ख्य पक्षीसहित विविध परितन्त्रका साथ, काजीरङ्गा यसको मनोरम परिदृश्यका लागि पनि प्रख्यात छ। काजीरङ्गामा कैयौं सिमसार पनि छन्, जसमा दुई महत्त्वपूर्ण पक्षी क्षेत्रलाई (आईबीएएस) जलपक्षीका लागि मान्यता प्रदान गरिएको छ। ती हुन् काजीरङ्गा राष्ट्रिय निकुञ्ज र लाओखोवा र बुर्हाछपोरी वन्यप्राणी अभयारण्य। “बिग फाइभ”को उल्लेखनीय संख्यामा घरका रूपमा मान्यता पाएको यस स्थानमा २०२२ को गणना अनुसार २,६१३ विराट एक सिङ्गे गैंडा, १०४ बङ्गाल बाघ, वर्ष २०२४ का लागि १,२०० एसियाली हात्ती प्रक्षेपित, २,५६५ जङ्गली पानी भैंसी र १,१२९ पूर्वेली बाह्रसिङ्गे मृग दर्ता गरिएका छन्। -पीआईबी