दिल्लीको बैठकलाई लिएर क्यापको असन्टुष्टी

IMG-20250211-WA0256

गान्तोक: हिजो नयाँ दिल्लीमा सम्पन्न सिक्किमका १२ जात समुदायलाई जनजातिको माग सम्बन्धमा सिक्किम सरकारले गठन गरेको सिक्किम राज्य उच्चस्तरीय समिति (एसएसएचएलसी) को बैठकलाई लिएर सिटिजन एक्शन पार्टी, सिक्किमले शङ्का जताएको छ। उक्त बैठक सिक्किमवासीको आँखा छल्ने काम हो भन्ने पार्टीको अड़ान रहेको छ। पार्टीका प्रवक्ताहरू महेश राई र अर्बर्ट गुरुङले आज राजधानीमा पत्रकार सम्मेलन गरेर हिजो नयाँ दिल्लीमा बसेको बैठमाथि केही प्रश्न उठाएका छन्। उल्लेखनीय छ, हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा एसएसएचएलसी-का सदस्यहरू, सिक्किम सरकारका सम्पूर्ण विधायक एवं मन्त्री, १२ जात समुदायका प्रतिनिधिहरू साथै अन्यको उपस्थितिमा एउटा बैठक बसेको थियो जसमा समितिद्वारा तयार पारिएको प्रारम्भिक मस्यौदामाथि चर्चा भएको थियो।
केवल मस्यैदामाथि चर्चा गर्न मुख्यमन्त्रीलगायत सम्पूर्ण मन्त्री-विधायक किन दिल्ली जानुपऱ्यो भन्दै महेश राईले प्रश्न तेर्साएका छन्। त्यो बैठक त गान्तोकमा पनि गर्न सकिन्थ्यो, उनले भने। उनको भनाइअनुसार यो केवल सिक्किमे जनताको आँखा छल्ने काम हो। नयाँ दिल्लीमा हिजैको दिन अर्थात १० फरवरीको दिन हुने भनिएको सिक्किम र दार्जीलिङका नेताहरूबीचको कथित गोप्य बैठकको खुलासा भएपछि जनताको आँखा छल्नको निम्ति हिजोको बैठक डाकिएको उनको आरोप रहेको छ।
उल्लेखनीय छ, केही दिन अघि गान्तोकको सम्मान भवनमा बसेको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको विधायक दलको बैठकपछि एसकेएम पार्टीद्वारा जारी गरिएको प्रारम्भिक प्रेस विज्ञप्तीमा १० फरवरीको दिन नयाँ दिल्लीमा सिक्किम र दार्जीलिङका नेताहरूबीच एउटा बैठक बस्ने कुरा उल्लेख गरिएको थियो जसललाई तुरुन्तै संशोधन पनि गरिएको थियो। संशोधित प्रेस विज्ञप्तीमा सिक्किम-दार्जीलिङका नेताहरूबीच दिल्लीमा हुने बैठकको प्रसङ्ग बाहेक अरु कुराहरू भने जस्ताको तस्तै रहेको छ। यसै विषयलाई लिएर विपक्षी सिटिजन एक्शन पार्टी, सिक्किमले सरकारलाई घेर्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement