साहित्य भन्ने केवल कवि लेखकको मात्रै हो भन्ने भूल धारणा राख्नु हुँदैन: डा राजेन्द्र भण्डारी
गान्तोक: कथाकार थिरूप्रसाद नेपालका कथासंग्रह एक आँगन घामलाई नवौँ तुलसीराम कश्यप पुरस्कार प्रदान गरियो। नेपाली साहित्य परिषद, सिक्किम र तुलसीराम कश्यप शर्मा प्रतिष्ठानको संयुक्त आयोजनमा कथाकार नेपाललाई पुरस्कार अर्पण गरियो। कवि डा राजेन्द्र भण्डारी मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेले गरेका थिए। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्य अतिथि भण्डारीले भने, ‘साहित्यमा पुरानो पुस्ताबाट केही लिएर नयाँ सिर्जना गरिन्छ। भुँइफुट्टा कोही हुँदैन र हुनु पनि हुँदैन। सिक्किममात्र यस्तो ठाउँ हो जहाँ साहित्य साधनाको निम्ति उपयुक्त माहोल रहेको छ। पुस्ताकालय, विश्वविद्यालय धेरै रहेको कारण साहित्यमा चासो राख्नेहरूको युवा जमान बढेको अनि हरेक कुरामा सिक्किमले फड्को मारिरहेको छ।‘ सिक्किममा अहिले घर घरमा शोधार्थी, अऩुसन्धानदाता र शिक्षित जमान रहेको बताउँदै पढ्नु र लेख्ने बानी गर्नुपर्ने कुरामा जोड दिए। उनले भने, ‘साहित्य भन्ने केवल कवि लेखकको मात्रै हो भन्ने भूल धारणा राख्नु हुँदैन। इञ्जिनियर, डाक्टर, ब्युरोक्रेट अरूले पनि लेख्दा हुन्छ कवि लेखकको मात्रै लेख्ने काम हो भने धारणा छ।‘ पढे लेखेको हो भन्ने अधिकार राख्नेले पढ्नु मात्र होइन लेख्नु पनि पर्छ तब मात्र पढेलेखेको भन्ने अधिकार राख्न सक्ने बताए। उनले भने, ‘लेख्नु सक्नुभनेको नितान्त नयाँ अभियान हो लेख्नु सक्नु ठूलो अनुभव हो।‘
यसैगरि पुरस्कार प्रापक थिरू प्रसाद नेपालले आफूलाई यो पुरस्कारले सम्मानित गरिएकोमा आफ्नो कर्मको मूल्याङ्कन हुन थालेकोमा अतिनै हर्ष लागेको बताए। उनले फेड्रिक नित्सेलाई साभार गर्दै भने, ‘जब कृतिहरू आफै बोल्न थाल्छन् कृतिकार चुप लाग्नुपर्छ भन्ने कुरालाई मान्नु पर्छ।‘ उनले सिक्किमका कवि तुलसीराम कश्यप भारतमा सशक्त छन्दको प्रयोग गर्ने महत्वपूर्ण व्यक्ति रहेको बताए। उनले पुरस्कारको निम्ति आभार प्रकट गरे।
कार्यक्रममा अध्यक्षीय सम्बोधन राख्दै सभाध्यक्ष हरी ढुङ्गेलले कवि तुलसीराम कश्यपको योगदानको प्रसंशा गर्दै उनले साहित्यको विभिन्न विधामा कलम चलाएर दिएको योगदान उल्लेखनिय रहेको बताए। उनी नेपाली साहित्यका विशिष्ठ व्यक्तित्वको रूपमा रहेको बताउँदै उनी नेपाली भाषीका श्रीसम्पत्ती रहेको बताए। यसैगरि अहिले विभिन्न समाजिक सञ्जालमा जात छुट्याउने, जातिमा फुट हाल्ने मन्तव्यहरूको प्रचार भएकोमा आपत्ती जनाए। उनले भने, ‘केही दिन अघिदेखि सामाजिक सञ्जालमा जात छुट्याउने, फुवट ल्याउने र मिलेर बसेका हामी सिक्किमेलाई तहस नहस गर्ने षड्यन्त्र चलिरहेछ, एक दुइ समाज विरोधीहरू, जात र नेपाली भाषीलाई गाली गरिरेहका पाउँछौं। उनले अझ भने, ‘हामी नेपाली भाषा साहित्यद्वारा सबैलाई जोड्ने काम गर्छौ तोड्ने होइन, त्यसैले यसरी जातीय सद्भावना धमिल्याउने र नेपाली फाषाको प्रयोग गर्दै नेपाली जातिलाई गाली गर्नेहरूको हामी प्रतिवाद जनाउँदछौँ।‘
पुरस्कारमा अङ्गबस्त्र, प्रसस्ती पत्र, स्मृति चिन्ह र नगद राशी प्रदान गरियो। कार्यक्रम कुबेर विष्टले स्वागत सम्बोधन राखेर शुरु भएको थियो भने सीपी राईले तुलसी कश्यपको व्यक्तित्व एवम् कृतित्वबारे प्रकाश पारेका थिए। यसगरि पुरस्कार र पुरस्कृति व्यक्तिको संक्षिप्त परिचय कष्यप प्रतिष्ठानका अध्यक्ष डिल्लीप्रसाद अधिकारीले प्रस्तुत गरे। पुरस्कृत कृतिमाथि सीक्षात्मक टिप्पनी युवा बराल अनन्तले प्रस्तुत गरेका थिए भने भाषा साहित्य विकासमा राधाकृष्ण शर्माको योगदानमाथि निलम न्यौपानेले वक्तव्य राखेका थिए। कार्यक्रममा कश्यपका कविचा राधा पाण्डेले बाचन गरेका थिए भने जीएस नेम्बाङ र भीम ठटालले मौलिक कविता वाचन गरेका थिए। कार्यक्रममा तुलसी कश्यप ग्रन्थावलीको विधिवत लोकार्पण गरियो। उक्त ग्रन्थावलीमा उनको सबै १६ वटा साहित्यिक कार्यहरू समेटिएका छन्।