खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा देबाञ्जन शेयर गर्ल्स एकाडमीले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो । जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा मंगलवार खेलिएको म्याचमा देबाञ्जन शेयर गर्ल्स एकाडमीले ईगल फूटबल क्लब (कटिहार, बिहार)-विरुद्ध ८-१-ले सजिलै जीत हासिल गऱ्यो। विजेता टीमबाट सोनाली मण्डल, अञ्जली सोरेन र अंशु राई प्रत्येकले २-२ गोल गरिन्। यसरी सुशाना राई र पल्मु राईले १-१ गोल गरिन्। यसरी ईगल एफसी को तर्फबाट विशाखा बर्मनले १ गोल गरिन्। विजेता टीमकी खेलाड़ी पल्मु राईले स्टार अव् द म्याच-को पुरस्कार जितिन्।

बुधवार खेलिने म्याचमा एसएसबी रानीडांगा र जीएसएफए कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।