खरसाङ: भारतीय जनता पार्टी (भाजपा) खरसाङ मण्डल समितिका एउटा टोलीद्वारा शिक्षक दिवसको उपलक्ष्यमा खरसाङ क्षेत्रका कतिपय वरिष्ठ अनि अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरुलाई उनीहरुको घरमा नै पुगेर सम्मान जनाई शिक्षक दिवस मनाएका छन्। भाजपा खरसाङ मण्डल समितिका अध्यक्ष मदन जोगीको नेतृत्वमा भाजपा खरसाङका विभिन्न प्रतिनिधिहरुले खरसाङ क्षेत्रका 8 जना विभिन्न वरिष्ठ अनि अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरुलाई उनीहरुको घरमा नै पुगेर सम्मान जनाउने कार्य गरिएको छ। यस अवधि पत्रकारहरुसित बोल्दै भाजपा खरसाङ मण्डलको अध्यक्ष मदन जोगीले भने, आजको दिन सबैको निम्ति एउटा महत्वपूर्ण दिन हो। जुनै क्षेत्रमा रहेतापनि सबैले नै आफ्नो गुरुजनलाई सम्झिने अनि सम्मान गर्ने दिन आज रहेको बताए।

उनले भने- शिक्षक-शिक्षिकाहरु विद्यार्थीहरूका जीवनमा प्रकाश ल्याउनको निम्ति आफ्नो जिवन नै व्यतित गरेको हुन्छन्। यसर्थ, ती महान गुरुजनलाई हुन त सधैं नै वा आजीवन सम्मान गर्नु पर्ने रहेतापनि आज शिक्षक दिवसको दिन जसरी भए पनि ती महान शिक्षकहरुलाई हामी सम्मान अनि सम्झिने गर्छौं। सोही क्रमलाई अघि बढाउँदै आज उनीहरुले ती कतिपय अवकाशप्राप्त वरिष्ठ शिक्षक-शिक्षिकाहरुलाई घरमा नै गई सम्मानित गरेको भाजपा मण्डल अध्यक्ष जोगीले बताए। उनले भने, आज उनीहरुले सम्मान गर्न पाएका खरसाङका ८ जना शिक्षक-शिक्षिकाहरुमा गंगामाया प्रधान, रविन राई, कुन्तला प्रधान, उदय थापा, रामप्रसाद प्रधान, सप्त प्रधान, सावित्री छेत्री अनि बीबी रसाईली अादि हुन्।

जोगीले भने-आज ती शिक्षक-शिक्षिकाहरुलाई उनीहरुले खदा लगाई अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाउनु पाएका छन् भने आगामी दिनहरुमा भव्य प्रकारले नै एउटा विषेश कार्यक्रमको आयोजन गरेर शिक्षक-शिक्षिकाहरुलाई सम्वर्दना जनाउने तिनीहरुको सोंच रहेको छ भनी जोगीले बताए। अध्यक्ष मदन जोगी बाहेक भाजपा खरसाङका पार्टी कार्यकर्ता अनि प्रतिनिधिहरू सञ्जीव छेत्री, अर्जुन छेत्री, मंगल शेर्पा, विनय प्रसाद, चंदन प्रसाद, निर्पराज रन्पहेली, निशान्त सुनार अनि राकेश सिंह रहेको जानकारी पार्टी पक्षबाट जनाईएको छ।








