बिराटनगर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन।
कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो। कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ।
विभागका अनुसार कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ। सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६० वर्ष नाघिसकेको छ। कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो।
प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रव्रिmया अगाडि बढ्न नसकेको हो। एसियाली विकास बैँक (एडिबी) को सहयोगमा पाँच वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको ‘डिपिआर’ तयार गरिएको थियो।
नेपालस्थित ‘एडिबी’ निर्देशनालय प्रमुख चूडाराज ढकालले एडिबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो। सडक र पुल निर्माणका लागि पेस गरिएको वातावरण प्रभाव मूल्याङ्कन आरक्ष कार्यालयले स्वीकृत नगर्दा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो।
निर्देशनालय प्रमुख ढकालले भन्नुभयो, “कोशी ब्यारेजको करिब १० किलोमिटर उत्तरमा नयाँ सडक र पुल निर्माण गर्ने गरी तयार पारिएको अध्ययन प्रतिवेदनलाई मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ भने कोशीटापु वन्यजन्तु आरक्ष कार्यालयले ब्यारेजको बढीमा एक किलोमिटर उत्तरमा सडक र पुल निर्माण गर्ने गरी डिजाइन गर्न सुझाव दिएको छ। यसरी सरकारद्वारा स्वीकृत अध्ययन प्रतिवेदन र आरक्ष कार्यालयले दिएको सुझाव बाझिदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो।”
निर्देशक ढकालका अनुसार प्रस्ताव गरिएको सडकको चौडाइ चार लेन र सडकको कुल लम्बाइ ४४.२ किलोमिटर हुने छ। त्यसै गरी नयाँ पुलको लम्बाइ दुई हजार ८६० मिटरको हुने छ। नयाँ ‘एलाइनमेन्ट’ अनुसार वैकल्पिक सडकमा साना ठुला गरी ३४ वटा पुल पर्छन्।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका उपमहानिर्देशक वेदकुमार ढकालले अहिले प्रस्ताव गरिएको ठाउँमा सडक र पुल निर्माण गर्ने हो भने मानव–हात्ती द्वन्द्व झन् बढेर आउने, चुरे क्षेत्रको थप विनाश हुने र वन्यजन्तु आरक्ष क्षेत्रको जग्गा अतिक्रमण हुन सक्ने भएकाले प्रस्तावित रेखाङ्कनमा नयाँ सडक र पुल निर्माण उपयुक्त नहुने भएकाले कार्यालयले अनुमति नदिएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “यदि कोशी ब्यारेजको विकल्प मात्र दिने हो भने अहिले ब्यारेज रहेको तीन/चार किलोमिटर उत्तरमा पनि नयाँ सडक र पुल निर्माण गर्न सकिन्छ। ब्यारेजदेखि १० किलोमिटर उत्तर किन पुग्नु प¥यो? बढीमा एक किलोमिटरको दुरीमा सडक र पुल निर्माण गर्ने हो भन्ने चुरे र आरक्ष क्षेत्रलाई विनाशबाट सुरक्षित राख्न सकिन्छ। आरक्ष क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमणमा समेत पर्न सक्दैन। त्यसैले प्रस्तावित सडक र पुल निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइनमेन्ट) र डिजाइन आवश्यक छ।”
सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले प्रस्तावित नयाँ सडक र पुल निर्माणले राजमार्गको मार्ग (एलाइनमेन्ट) समेत सिधा हुने र दुरीसमेत कम हुने बताउनुभयो। कोशी ब्यारेज सप्तरीमा पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ नेपाल–भारत सिमाना हुँदै गएको छ।
उहाँले भन्नुभयो, “अहिले गरिएको डिजाइन अनुसार पूर्वपश्चिम राजमार्गको ‘एलाइनमेन्ट’ मा सुनसरीको इटहरी र झुम्काबिचको पकलीबाट परिवर्तन हुने छ। सुनसरीको सदरमुकाम इनरुवाबाट उत्तरपूर्वी क्षेत्र हुँदै बन्ने नयाँ सडकले कोशीमा नयाँ पुल पार गर्दै सप्तरीको कञ्चनपुर जोड्ने छ।”
प्रस्तावित नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिञ्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ। तराई भूभागमा एक सय किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा सवारी गुड्न सक्ने गरी डिजाइन गरिएको छ।
अध्ययन अनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ खर्च हुने छ। सो वैकल्पिक पुल र सडक निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निर्माण गरिने छ। यसअघि एडिबीकै सहयोगमा प्रस्तावित सडक र पुलको डिपिआर गरिएको हो।