काेलकत्ता: भारतको वर्तमान योजनाहरूका हिस्सा नभए पनि पेस बलिंग अलराउण्डर शार्दुल ठाकुर आफ्नो सम्भावनाहरूलाई लिएर आशावादी छन्। हरियाणाविरुद्ध जारी रणजी ट्रफीको क्वार्टर फाइनलमा मुम्बईको तर्फबाट अझ एउटा प्रभावशाली प्रदर्शनपछि इण्डियामा फर्किन उनको दावेदारी कायम रहने बताए। भारतको २०२१-को ईंग्ल्याण्ड यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ३३ वर्षीय शार्दुल वर्तमान घरेलु सीजनमा असाधारण फर्ममा देखिएका छन्। उनी मुम्बईको निम्ति पाँचौं सर्वाधिक रन बनाउने खेलाड़ी हुन्। उनले ९ वटा ईनिंग्समा ४४.००-को प्रभावशाली औसतले ३९६ रन बनाएका छन्। यसमा एउटा शतक र ३ वटा अर्द्धशतक सामेल छ। यसको साथमा उनले बलिंगद्वारा पनि छाप छोड़ेका छन्। शार्दुलले २१.१०-को औसतले ३० विकेट हासिल गरिसकेका छन्। रणजी ट्रफीको जारी क्वार्टर फाइनल म्याचमा पनि उनले हरियाणाको पहिलो ईनिंग्समा ६ विकेट हासिल गरी विपक्षी टीमको तल्लो क्रमलाई ध्वस्त पारेका थिए। यसले गर्दा नै मुम्बईलाई पहिलो ईनिंग्सको आधारमा १४ रनको बढ़त हासिल भएको थियो।
दिसम्बर २०२३-मा सेञ्चुरियनमा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो एघाह्रौं तथा अन्तिम टेस्ट म्याच खेल्ने शार्दुलले भने, टीममा तपाईंको निम्ति स्थान नहुँदा स्वाभाविक रूपले निराशा त हुन्छ। यसबाहेक मैदानमा खेलिरहेको नहुँदा अनि घरमा खाली बसेको समय यसबारे अझ धेर सोचिन्छ तर एकपल्ट मैदानमा ओर्लिएपछि मेरो पूरा ध्यान म्याचमा हुन्छ। त्यो चाहे क्लब क्रिकेट होस्, रणजी ट्रफी होस्, आईपीएल होस् या फेरि भारतको निम्ति खेल्नु। मेरो निम्ति हरेक म्याचको महत्त्व हुन्छ, चाहे त्यो कुनै पनि स्तरको होस्।
भारतको निम्ति नयाँ वर्ल्ड टेस्ट च्याम्पियनशीप चक्रको शुरुवात जून-जुलाईमा ईंग्ल्याण्ड यात्राको साथ हुनेछ अनि शार्दुललाई त्यस सीरीजको निम्ति टीममा स्थान पाउने आशा रहेको छ। उनले भने, म आशावादी छु। म त आफूलाई ईंग्ल्याण्ड यात्राको निम्ति दावेदार मान्छु। मेरो अघिल्लो लक्ष्य टीममा स्थान बनाउने अनि चयन हासिल गर्ने रहेको छ। मेरो सदा यही लक्ष्य हुन्छ। अहिले म रणजी ट्रफी खेलिरहेको छु। अन्तर्राष्ट्रिय क्रिकेट सर्वोच्च स्तर हुन्छ, जसको निम्ति हामी सबै प्रयास गर्छौं। यो कुरा सदा मेरो दिमागमा हुन्छ कारण देशको निम्ति खेल्ने प्रेरणाले नै मलाई अघि बढ़ाउँछ। त्यो जोश र ऊर्जा कहिले समाप्त हुनेछैन। आईपीएलको लिलामीमा बिक्री नहुने शार्दुल ईंग्ल्याण्डको परिस्थितिहरूको अनुभव हासिल गर्न काउण्टी क्रिकेटमा खेल्न तयार छन्। उनले भने, कुनै टीमले मलाई प्रस्ताव दिए म निश्चित रूपले काउण्टी क्रिकेट खेल्नेछु। त्यो एउटा असाधारण अनुभव हुनेछ। अहिले त कुनै ठोस योजना छैन तर काउण्टी क्रिकेटमा त्यस समय ६-७ वटा म्याच हुन्छ। यसैकारण ईंग्ल्याण्ड यात्रा अघि काउण्टी क्रिकेट खेल्ने मौका पाए मलाई नै फाइदा हुनेछ।