पाकिम: सशस्त्र सीमा बल (एसएसबी) ६९औं बाहिनी (एसएसबी) पाकिम जिल्लाले हिजो स्थानीय मामरिङ वरिष्ठ माध्यामिक विद्यालयमा नागरिक जनकल्याण कार्यक्रमअन्तर्गत एक मैत्रीपूर्ण फूटबल म्याच आयोजना गऱ्यो। कार्यक्रमअवधि अम्बा ग्राम पञ्चायत इकाईकी सभापति सुश्री अञ्जना थापा मुख्य अतिथिका रुपमा उपस्थित थिइन् भने स्थानीय पञ्चायत बीके रसाइली विशिष्ट अतिथि रहेकी थिइन्। यसरी नै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय भेकका पूर्व सैनिकहरु, पूर्व पञ्चायतलगायत स्थानीय वरिष्ठ नागरिकहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको मुख्य आकर्षण फूटबल खेल ताक्छाङ फुटबल टिम र मामरिङ फुटबल टोलीबिच सम्पन्न भएको थियो। पूर्वार्द्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मामरिङ ३-२ ले अघि थियो भने उत्तरार्द्धमा ताक्छाङले अति नै रोमाञ्चक खेल प्रदर्शन गर्यो फलस्वरूप खेल ६-६ गोलको बराबरीमा टुङ्गियो। खेलको अन्तिमसम्म स्कोर बराबरी हुँदा पेनाल्टी सुटआउटमा ट्रफी ताक्छाङले हाता पार्न सफल बन्यो।
जीतपछि विजयी एवम् उपविजेता टोलीलाई ६९ बाहिनीका तर्फबाट ट्रफी, फुटबल जर्सी एवम् खेल सामाग्रीहरु प्रदान गरिएको थियो।