गान्तोक: राज्यपाल ओम प्रकाश माथुरको अध्यक्षतामा नामग्यल इन्स्टीट्यूट अफ् टिबेटोलोजी (एनआईटी) को सामान्य परिषद एवं कार्यकारी मण्डलको बैठक सम्पन्न भयो। उल्लेखनीय छ, राज्यपाल एनआईटी-का अध्यक्ष हुन्।
बैठकलाई सम्बोधन गर्दै एनआईटी-का निर्देशक डा. पासङ डी केम्पूले स्वागत सम्बोधनसँगै संस्थानको बारेमा विस्तृत रुपमा जानकारी गराए। यसरी नै आफ्नो सम्बोधन राख्ने क्रममा राज्यपाल माथुरले एनआईटी-को शैक्षिक ढाँचालाई अझ बलियो बनाउन यूजीसी-को दिशानिर्देशअनुसार सहायक प्रोफेसरहरू नियुक्त गर्ने सुझाउन दिए। यसको साथै संस्थानको वित्त समितिलाई पनि यस दिशामा पहल गर्ने सुझाउ दिए। राज्यपालले एनआईटी-लाई अझ प्रतिष्ठित संस्थानको रुपमा विकास गरिनुपर्ने कुरामा पनि जोर दिए।
बैठकको क्रममा राज्यपाल माथुरले एनआईटी परिसरमा निर्माण भइरहेको ३० शय्याको सेवा रिग्पा अस्पतालको कार्य प्रगति बारे पनि जानकारी लिए। बैठकमा संस्थानका विभिन्न भावी कार्यक्रम माथि पनि गहन चर्चा भएको थियो। यस अवसरमा बनारस र ग्वालियरबाट आएका अधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो।










